जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ पौष
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिवद्ध रहेको बताउनुभयो । अख्तियार दुरुपयोग अनुसंधान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले आफूले शपथ लिएसंगै प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउनुभयो ।
अनियमितताबारे कुनै अनुसन्धान गर्ने बेलामा हाम्रो सय प्रतिशत सहयोग रहनेछ, उहांले दोहोर्याउनुभयो । उहांले भन्नुभयो, कुनै कुनै ठाउँमा गडबडी पनि भएको होला, छानबीन गरेर कारवाही गर्छौं । आगामी आर्थिक बर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना संचालन नगरिने जानकारीसमेत उहाँले दिनुभयो । आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सामूहिक रुपमै सुशासन कÞायम हुनसक्ने बताउँदै सुशासनको पहिलो बिगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकतामा जोड दिनभयो । उपमेयरहरुको समस्याको सन्दर्भमा उहाँले भन्नुभयो, अधिकारको व्यवस्था ऐनमै छ, लडेर लिनुपर्छ । उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रुपमा देखिएको तिक्ततापनि राईले पोख्नुभयो । घर बनाउने, ढलान गर्ने, पुल बनाउनेजस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो सोचिनुपर्दछ, उहाँले भन्नुभयो । प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेटने खालको हुनुपर्ने बताउंदै यसलाई परिभाषित गर्न पनि संघ सरकारलाई भनेको स्पष्ट पार्नुभयो ।
कानुनको ज्ञान ब्यूरोक्रेट्सलाई हुने गरेको र ब्युरोक्रेटले पनि नेताहरुलाई उकास्ने गरेको प्रवृत्तिप्रति उहांले कटाक्ष गर्नुभयो । प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले बोल्नुभएको सो अवसरमा अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग तथा अख्तियारकै सहसचिव लक्ष्मी प्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति थियो ।
