अहिले यातायात व्यवसाय धरासायी हुनु तथा सडक दुर्घटना हुनुको प्रमुख कारण राजमार्गको स्तरोन्नति नहुनु हो । यातायात व्यवसायमा संकट गहिरिनुको मुख्य कारण कमजोर सडक पूर्वाधार हो ।
धुलो र खाल्डाले गाडीको आयु घटाएको व्यवसायीको दाबी विस्तार भइरहेका राजमार्गको सडक खण्डहरुको अवस्था हेर्दा नाजायज लाग्दैन । बुटवल–नारायणगढ ११३ किलोमिटर सडकखण्डमा गाडीहरु एकोहोरो खाल्डाको मार झल्दै गुड्छन् । पहिले दुई घण्टामा पार हुने यो सडक अहिले कम्तीमा ४ देखि ६ घण्टा लाग्ने अवस्था छ ।
मुग्लिनबाट नागढुंगा नआइपुग्दाको ९५ किलोमिटर सडक खण्ड पनि अहिले त्यही हविगत नजिक पुगेको छ । सुस्त ढंगले विस्तार भइरहेका सडकका ठाउँ–ठाउँमा खनिएर छाडेका भागहरु र सडक छेउमा थुपारिएका निर्माण सामग्री गाडीका लागि पासो थापे जस्तै बनेका छन् । ‘नयाँ गाडीमा पनि खाल्डाखुल्डीका कारणले टुटफुट आउन थालिहाल्छ, दुर्घटनामा पर्ने जोखिम पनि उत्तिकै बढेको छ,’ । गाडीमा समस्या आउन थालेपछि पटक–पटक बिग्रिन्छ, त्यसको महँगो मूल्य व्यवसायीले चुकाउनुपर्छ ।’ गाडीबाट आयभन्दा बढी खर्च हुन थालेपछि कतिपयले व्यवसायमा लगानी नै गर्न छाडेको छन् । यसैकारण पश्चिम रुटमा नयाँ गाडी थपिने क्रम घटेको छ । त्यसकारण राजमार्ग सडकको अवस्था सुधार गर्न अति आवश्यक रहेको देखिन्छ । राजमार्गमा हुने गरेको कामहरुको राम्ररी अनुगमन तथा चेकजाँच हुन जरुरी छ । अलपत्र सडकलाई समयमै तयार गर्न सडक विभाग लाग्नुपर्छ।
