औद्योगिकरणको आवश्यकता – Jaleshwortoday

औद्योगिकरणको आवश्यकता

 January 24, 2024  
Untitled

  • प्रा.पवन कुमार साह

नेपालमा अहिले सरकार तथा विभिन्न सरोकारबालाहरुले जति सुकै अर्थतन्त्र मजबुत भएको वा अर्थतन्त्रमा सुधार आइरहेको भने पनि यो दिवा सपना मात्र रहेको बुझ्दा हुन्छ । किनभने यथार्थ सत्य हो जसको प्रमाण एक जनाबाट मात्र होइन की सबैसँग रहन्छ र त्यसको अनुभुति सबैले गरेको हुन्छ । अहिलेको नेपालको अर्थतन्त्र विप्रेषण तथा जनताको करमा टिकेको छ । नेपालको ग्राहस्थ उत्पादन शुन्य बराबरको रहेको भन्दा यसमा कसैको दुई मत नहोला । त्यसकारण यस प्रतिकुल परिस्थितिमा नेपाल सरकारले र स्थानिय पूँजीपतिहरुले यहाँ औद्योगिकरणको बाटोमा लागि हाल्न आवश्यक रहेको देखिन्छ । आफ्नो देशको युवाहरुलाई विदेशमा पठाएर यदि नेपाल सरकारले यस देशको कायापलट गर्न दिवा स्वप्न देखेको छ भने त्यो बहममा नबस्दा हुन्छ जस्तो मलाई लाग्दछ । जबसम्म यहाँ युवाहरुको श्रमलाई यसै देशमा विभिन्न क्षेत्रमा लगानी गरिदैन तब सम्म यस देशको उन्नतिमा बाधा अवरोध आउने देखिन्छ । त्यसकारण युवाहरुलाई बिदेशीनुबाट जोगाई यहाँ नेपाल सरकारको लगानीमा वा नीजि लगानीमा वा नीजि तथा सरकारी लगानीमा वा विदेशी लगानी तथा नेपाल सरकारको सँयुक्त लगानीमा भए पनि पुरानो उद्योग तथा कलकारखानालाई पुर्नजिवित पार्न आवश्यक रहेको छ भने सहज किसिमको स—साना वा मझौला वा ठूलो उद्योग सँचालन गर्न गराउनमा सरकारले उदार नीति अबलम्बन गर्न आवश्यक रहेको देखिन्छ । बाँझो जमिनलाई कृषिजन्य बोटबिरुवा तथा नगदे बालि लायक बनाई कुषि क्षेत्रलाई प्रबद्र्धन गर्न आवश्यक रहेको देखिन्छ । विदेशी तथा स्वदेशी कम्पनी वा पूँजीपति वा सामान्य व्यक्तिहरुका लागि लगानीको तथा लगानी सुरक्षाको प्रत्याभूति पनि नेपाल सरकारले सहमतिका आधारमा दिन आवश्यक रहेको देखिन्छ । किनभने जबसम्म लगानीकर्ताहरुले आफ्नो लगानीको सुरक्षा पाउदैनन् तबसम्म उनीहरुले खुलेर लगानी गर्न चाहदैनन् । त्यसकारण अव नेपाल सरकारले आफूसँग भएका स्रोत साधनहरुको पहिचान गरी त्यस क्षेत्रमा भएका संभावित लगानीकर्ताहरुलाई निम्तो पठाई आवश्यक परामर्श तथा छलफलको माध्यमबाट उनीहरुलाई लगानी गर्न उत्प्रेरित आवश्यक तथा अर्काे विकल्प नरहेको देखिन्छ । औद्योगिक क्रान्तिको बिगुल फुकेर व्यहारिक बन्नुपर्छ।