- प्रा.पवन कुमार साह
नेपालको राजनीतिमा स्व.गजेन्द्रनारायणले मधेसलाई स्थापित गरेका हुन् । मधेसमा पहिलो, दोस्रो र तेस्रो विद्रोह भयो र केही हदसम्म भए पनि मधेसले पहिचान र अधिकार पाएको छ । गजेन्द्रनारायण सिंह भन्दा पहिला पनि मधेसको मुद्दा नउठेको होइन, मधेसको अधिकार र पहिचानको कुरा पहिलो पटक प्रभावशाली र संगठित रूपमा लामो समयसम्म उठाउने उनै हुन् । उनले आफ्नो पार्टीबारे भन्थे– सद्भावना कुनै पार्टी होइन, यो मधेसी जनताको भावना हो । यस भावनालाई नेतृत्व गर्नेले प्रजातान्त्रिक पद्धतिबाट सही मार्गमा लान सक्नुपर्छ । नेपालभित्र दोस्रो दर्जाको नागरिक सरह जीवन बिताउन बाध्य बनेकालाई सामाजिक न्याय दिलाउँदै सम्पूर्ण नेपाली नागरिकले समानताको अनुभूति गर्न सक्ने नयाँ नेपालको स्थापना गर्नु नै आफ्नो पार्टीको मुख्य लक्ष्य हो । अहिलेको खासगरी मधेसकेन्द्रित राजनीतिक दल र समाजमा गजेन्द्रबाबु प्रति अगाध श्रद्धा र सम्मान आजपर्यन्त कायम देखिन्छ । सरकारकेन्द्रित मुख्य दलहरूले मधेसका महत्त्वाकांक्षी नेताहरूको व्यक्तिगत स्वार्थको सम्बोधन गरिदिने तर मधेसीको अधिकारलाई वास्ता नगर्ने रणनीतिमा लागेको देखियो । हामीले धेरै सुनेको तर प्राप्त गर्न नसकेको ‘समग्र मधेस एक प्रदेश’, जसमा हामीले मेचीदेखि महाकालीसम्मको मधेस प्रदेश कुरा उठाएका थियौँ, भावनात्मक रूपमा मेचीदेखि महाकालीसम्मको मधेसलाई जोड्ने प्रयत्न गर्ने पहिलो मधेसी नेता बन्ने श्रेय पनि उनै गजेन्द्र नारायणलाई जान्छ । अधिकार, पहिचान, समतामूलक समाज निर्माणको सवालमा आवाज बुलन्द गर्दै शोषण, उत्पीडनमा परेका मधेसी समाजमा उनले आफ्नो अधिकारका लागि लड्नुपर्छ भनी सपना जाग्रित गराउने पवित्र कार्य गरे । संघीयता, समावेशिता, मधेसीको राष्ट्रिय पहिचानको मान्यताको लडाइँ, जातीय, लैङ्गिक विभेद र असमानताको लडाइँ लड्दै समतामूलक समाज निर्माणमा जीवनपर्यन्त संघर्षरत रहे । लोकतन्त्र, बहुलवाद र राष्ट्रियताको सवाललाई तत्कालीन प्रतिकूल अवस्थामा पनि गजेन्द्रबाबुले प्रखर रूपमा स्थापित गरे । आफूमाथि अनेक लाञ्छना, आरोप–प्रत्यारोप बेहोर्दै नेपालको राजनीतिमा मधेसीहरूको पहिचान र पहुँचको कुरालाई निरन्तर रूपमा उठाउन प्रयत्न गरे । तसर्थ वहाँलाई श्रद्धाञ्जलि स्वरुप माघ १० लाई मधेस सरकारले गजेन्द्र दिवस मनाई यस दिन सार्वजनिक विदा दिएर उनलाई सम्मान गर्न जरुरी छ ।
