जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ आषाढ
“वन संरक्षणमा सबैको सहभागिता आवश्यक” भन्ने मान्यता अनुरूप डिभिजन वन कार्यालय, महोत्तरी (जलेश्वर) को आयोजनामा पत्रकार, नागरिक समाज र सञ्चारकर्मी बीच समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलेश्वरस्थित ममाज होटलमा आयोजित उक्त कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, वातावरणमैत्री संघसंस्था, स्थानीय सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालयले पछिल्लो समय गरिएको कार्यको विवरण सार्वजनिक गर्दै वन अपराध नियन्त्रण, अवैध गाजा खेती उन्मूलन, सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण र वनसम्बन्धी मुद्दा दायरजस्ता विषयमा उल्लेखनीय प्रगति भएको जानकारी गराएको छ। चालु आर्थिक वर्षमा मात्र ८ वटा वनसम्बन्धी मुद्दा दायर गरिनुका साथै ४७८.०६ घनफुट काठ बरामद गरिएको छ । साथै ट्रयाक्टर, मोटरसाइकल, गोरु तथा वन्चरोजस्ता सवारीसाधनसमेत नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । कार्यक्रममा विगत वर्षहरूमा देखिएको बेरुजु तथा फछ्र्यौटसम्बन्धी विवरणसमेत सार्वजनिक गरिएको थियो। डिभिजन वन कार्यालयका अनुसार हालसम्म करिब ५ करोड ४३ लाख रुपैयाँ बराबरको अनियमितता पत्ता लागिसकेको छ र त्यससम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाइएको छ । कार्यक्रमका प्रमुख वक्ता तथा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले पारदर्शिता, उत्तरदायित्व र सहकार्यमा आधारित वन संरक्षण रणनीति कार्यान्वयन गर्न समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणका लागि स्थानीयस्तरमै सचेत र सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।
कार्यक्रममा अधिकृत राम स्वरूप सिंह, सामुदायिक वनका प्रतिनिधिहरू, वातावरण अभियन्ता, युवा संघसंस्थाका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले वन संरक्षण सरकारी निकायको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएकोमा एकमत व्यक्त गर्दै, सामूहिक उत्तरदायित्वबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
