आरजे ईर्शाद शेख
महोत्तरी, २६ आषाढ
पूर्वाधार विकास कार्यालय, जलेश्वरसँग सम्बन्धित प्रसारित समाचारपछि सामाजिक सञ्जालमा महोत्तरीका पत्रकारहरूमाथि लक्षित हुँदै गरिएको आधारहीन टिप्पणी र आरोपप्रति पत्रकार महासंघ महोत्तरी सहित पाँच पत्रकार संगठनले संयुक्त रूपमा गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल पत्रकार महासंघ महोत्तरी, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल तथा प्रेस मंच नेपाल महोत्तरीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलन र प्रकाशनका आफ्नै प्रक्रिया, कोण र प्रस्तुती हुने स्मरण गराएका छन्।
विज्ञप्तिमा जिल्लामा क्रियाशील पत्रकारहरूको व्यवसायिक निष्ठामाथि प्रश्न उठाउने कार्यलाई समग्र पत्रकारिता पेशामाथिको नियोजित आक्रमणको रूपमा लिइएको छ।
सामुदायिक प्रसारक संघ (अकोराब) मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीमाथि सामाजिक सञ्जालमा गरिएको निकृष्ट टिप्पणी र चरित्र हत्या गर्ने शैलीमा लगाइएका आरोपहरू निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दास, प्रेस युनियनका अध्यक्ष सन्तोष कुमार सिंह, प्रेस चौतारी नेपालका अध्यक्ष राम नारायण महतो, प्रेस सेन्टर नेपालका अध्यक्ष विशाल बस्नेत र प्रेस मंच नेपालका अध्यक्ष अरविन्द कुमार झाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ —
“समाजमा सामाजिक सद्भाव कायम राख्न सबै जिम्मेवार हुनुपर्छ। सामाजिक सञ्जालमा व्यक्त हुने विचार र टिकाटिप्पणी तथ्यमा आधारित र मर्यादित हुन आवश्यक छ।”
पाँचै संगठनले सरोकारवाला निकायलाई यस्ता घटनाप्रति समयमै संवेदनशील भई आवश्यक पहल गर्न आग्रह गरेका छन्। साथै, आगामी दिनमा सामाजिक सञ्जालमा हुने निराधार आरोप–प्रत्यारोप र अविवेकी टिप्पणीले सामाजिक सद्भावमा खलल पुग्न सक्ने भएकाले सबैलाई सजग र सचेत रहन पनि अपिल गरेका छन्।
