मिथिलाञ्चलको श्रद्धासुमनको पर्व जितिया विधिवत रुपमा प्रारम्भ – Jaleshwortoday

मिथिलाञ्चलको श्रद्धासुमनको पर्व जितिया विधिवत रुपमा प्रारम्भ

 September 26, 2021  
Jitiya Parba

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० असोज

सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलसहित मधेशका नारीहरुले मनाउने जितिया पर्व सुरु भएको छ ।
आइतबारदेखि विधिवत सुरु भएको जितिया पर्व बुधबार समापन हुने छ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानी समेत नखाई थुक पनि ननिल्ने हुनाले जितिया पर्वलाई कठोर मानिन्छ ।
जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । पहिलो दिन नुहाएर घिरौलाको पातामा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ ।
त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ ।
शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल कुवामा स्नान गरि गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने गरिन्छ । जितियापर्वको एका विहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यस माथि पिनाको अर्घ दिने गर्दछन् । त्यसपछि दिन रात उपवासमा बस्ने हुनाले छाक भरि भोजन गर्छिन् ।
यता विहानपख बच्चाहरु विउझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफुल सहित प्रसादीको रुपमा खान दिन्छन् ।
पारनका दिन अर्थात अन्तिम दिन विहानै उठी ब्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमा चुरा, दही, फलफुल खान दिएर जितिवा पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
मंगलबार बिहान सूर्योदयभन्दा चार घडीपूर्व दहीचिउरा ‘ओगटन’ (दर)खाएर निराहार व्रत बस्ने पुत्रवती महिलाले बुधबार बेलुका ५ बजेपछि समापन गर्नेछन्। यसपालि मंगलबार दिउँसो ३ बजे अष्टमी तिथि प्रारम्भ हुने र बुधबार २७ घडी २७ पला अष्टमी भोगपछि नवमी प्रारम्भ हुने भएको हुँदा समापन बुधबार साँझ हुने भएको छ।
जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहरु समेत गर्ने गर्दछन् ।