आगामी शैक्षिक सत्रबाट विद्यालय तहमा पास हुन सबै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने – Jaleshwortoday

आगामी शैक्षिक सत्रबाट विद्यालय तहमा पास हुन सबै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने

 December 26, 2021  
NEB

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ पौष

आगामी शैक्षिक सत्रबाट विद्यालय तहमा पास हुन सबै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने भएको छ ।
सरकारले विद्यालय तहमा कुनै पनि विद्यार्थी फेल नहुने गरी ‘अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२’ कार्यान्वयन गरेको थियो। उक्त कार्यविधिलाई सुधार गर्दै आगामी शैक्षिक सत्रबाट लागु हुने गरी विद्यालय तहमा पास हुन सबै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए। विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न ३५ प्रतिशत अनिवार्य ल्याउने व्यवस्था गरिएको उनी बताउँछन्। भन्छन्, शिक्षक र विद्यार्थीमा पढ्दै नपढे पनि पास भइन्छ भने मानसिकता हाबी भएकाले विद्यालय शिक्षाको गुणस्तर खस्किन नदिन लेटर ग्रेडिङ निर्देशिकामा सुधार गरिएको हो। उनी भन्छन्, विद्यालय तहमा पास हुन सैद्धान्तिकतर्फ न्यूनतम डी ग्रेड अर्थात् ३५ प्रतिशत र प्राक्टिकलतर्फ सी ग्रेड अर्थात ४० प्रतिशत ल्याउनैपर्ने छ। सुधार गरिएको कार्यविधिमा ७ ग्रेड छ। पहिला ९ ओटा ग्रेड थियो। तर ४० भन्दा माथिको ग्रेड भने यथावत् नै रहेको उनले जानकारी दिए।