क्षीरेश्वरनाथ नगरपालिका द्वारा ४० जना ज्येष्ठ नागरिकलाई सम्मान – Jaleshwortoday

क्षीरेश्वरनाथ नगरपालिका द्वारा ४० जना ज्येष्ठ नागरिकलाई सम्मान

 December 28, 2021  
Senior

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ पौष

क्षीरेश्वरनाथ नगरपालिका द्वारा ४० जना ज्येष्ठ नागरिकलाई सम्मान धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले पहिलो ज्येष्ठ नागरिक दिवस मनाएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका १० वटै वडाका गरी ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णय बमोजिम नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ‘सभ्य नागरिकको पहिचान ः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आईतबार सम्पन्न उक्त कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले ज्येष्ठ नागरिकलाई फुलमाला, अबिर र दोसल्ला ओढाएर सम्मान गरेका छन् । सम्मान गर्दै मेयर पजियारले भने, ’आखिर हरेक नागरिक एक न एक दिन ज्येष्ठ नागरिक अर्थात् ‘बूढो’ वा ‘बूढी’ हुन्छ । त्यही भएर हरेक व्यक्ति अहिलेदेखि नै चनाखो भएर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।’ उनले गत पुष ९ गते अर्थात् २ दिन अगाडी मात्र पुष ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन नगरपालिकालाई पत्राचार भएकोले हरेक वडाबाट सिमित ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताए । उनले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य उपचारको लागि नगरपालिकाबाट बजेट नै छुट्याईएको हुँदा चाँडै टोल टोलमा गएर नगर भरीका ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य उपचार गर्ने कार्यक्रम रहेको जानकारी दिए । मेयर पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चका अध्यक्ष मित्रलाल गिरी, क्षीरेश्वर धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार घिमिरे लगायतले मन्तव्य राख्दै समाजमा जेष्ठ नागरिकको कदर गर्ने परम्परा हराउनु नहुने धारणा राखेका थिए ।