जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ पौष
सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा चालु वर्षको समीक्षा गर्दै कोषले आगामी वर्षको आर्थिक वृद्धिदर यो वर्षभन्दा पनि कम हुने प्रक्षेपण गरेको हो ।
कोषका अनुसार यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर ५.९ प्रतिशतको हारहारी हुने अनुमान गरिएको छ । तर, सन् २०२२ मा १ प्रतिशतले आर्थिक वृद्धिदरमा ह्रास आई करिब ४.९ प्रतिशतमा सीमित हुन सक्ने कोषको प्रक्षेपण छ । सन् २०२० मा माइनस ३.१ प्रतिशतको विश्व अर्थतन्त्रको तुलनामा यो सकारात्मक वृद्धि हो । यद्यपि, सन् २०२१ को तुलनामा आउँदो वर्षमा विश्व अर्थतन्त्र गिरावटमा जान सक्ने कोषको प्रक्षेपणले भने चिन्ता जगाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार सन् २०२१ मा विश्वको अर्थतन्त्रको वृद्धिदर ५.९ प्रतिशत रहने उल्लेख छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका संयुक्तराज्य अमेरिका, युरोप समेतका मुलुकको आर्थिक वृद्धि सन् २०२१ मा ५.२ प्रतिशत रह्यो भने उदीयमान अर्थतन्त्र रहेका चीन, भारत, आसियान मुलुकहरु, रसिया, ब्राजिल समेतका मुलुकको आर्थिक वृद्धि करिब ६.४ प्रतिशतको हारहारीमा रहेको बताइएको छ । न्यून आय भएका विकासशील मुलुकको अर्थतन्त्र भने करिब ३ प्रतिशतले मात्र वृद्धि भएको छ । वर्ष २०२२ मा पनि ठूला अर्थतन्त्र भएका मुलुककै हिस्सा बढी हुने देखिएको छ । कोषका अनुसार सन् २०२२ मा न्यून आय भएका मुलुकको अर्थतन्त्रमा केही सुधार भई ५.३ प्रतिशत पुग्ने बताइएको छ । तर कोभिडका कारण सिर्जित समस्याले यी मुलुकमा अनिश्चितता बढाएपछि आर्थिक वृद्धिदर केही घट्ने देखिएको हो ।
गथसन् २०२२ मा छिमेकी मुलुक चीनको आर्थिक वृद्धिदर ५.६ प्रतिशत हुनेछ भने भारतको वृद्धिदर ८.५ प्रतिशत हुने कोषको प्रक्षेपण छ । कोषले विश्व अर्थतन्त्रको पुनरुद्धारको गति निरन्तर भए पनि आर्थिक वृद्धि सोचेजस्तो गतिमा नहुने र अनिश्चितता कायमै रहने जनाएको छ । खासगरी कोरोनाभाइरसका नयाँनयाँ भेरिएन्टका कारण विभिन्न मुलुकले लगाएका प्रतिबन्धले आर्थिक विकासमा अनिश्चितता र आशंका बढाएको हो । कोरोनाभाइरस विरुद्धको खोपको विश्वव्यापी पहुँच र आर्थिक नीतिहरुमा गर्नुपर्ने सामयिक सुधारले मात्र अर्थतन्त्रलाई थप गतिशील र चलायमान बनाउने कोषको ठम्याई छ । पछिल्ला विवरणहरुमा कोभिड विरुद्धको खोपको वितरणमा विकसित र गरिब राष्ट्रबीच व्यापक असमानता रहेकाले पनि आर्थिक पुनरुद्धारमा विषमता देखिएको र त्यो अझ फराकिलो हुने विश्व बैंक र मुद्रा कोष दुवैले बताएका छन् । खोप वितरणको असमानताले बेरोजगारी र आर्थिक असमानता अरु बढ्ने र विश्वका करोडौं मानिस पुनः गरिबीको चक्रमा पर्न सक्ने विश्वका प्रबुद्ध अर्थशास्त्रीहरुले चेतावनी दिइसकेका छन् ।
