ओ पी साह
जनकपुरधाम, १९ जेष्ठ
“खेली मधेश, जीती मधेश” नाराका साथ बिरगञ्जमा आयोजना हुन लागेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताका लागि मधेश प्रदेशको टोली छनोट गरिएको छ।
मधेश खेलकुद परिषद् द्वारा जनकपुरधाम स्थित कभर्ड हलमा आयोजित छनोट कार्यक्रममा खेलाडीहरूमध्ये १२ जना मुख्य तथा ३ जना वैकल्पिक गरी कुल १५ जना खेलाडी छनोट गरिएको हो।
कार्यक्रम मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवप्रसाद गुप्ताको अध्यक्षता तथा मधेश प्रदेशका पूर्व खेलकुद मन्त्री प्रमोद प्रसाद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा खेलकुद प्रमुख मोहम्मद जेयाहुल हक, प्रशिक्षण प्रमुख भरत यादव, प्रशिक्षकहरू तथा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमोद प्रसाद जयसवालले खेलकुदले प्रदेश र राष्ट्रको पहिचान स्थापित गर्ने भएकाले खेलाडीहरूले अनुशासन, लगनशीलता र आत्मविश्वासका साथ प्रतियोगितामा सहभागी हुनुपर्ने बताए। उनले मधेश प्रदेशमा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार र अवसर विस्तार हुँदै गएको उल्लेख गर्दै छनोट भएका खेलाडीहरूलाई प्रदेशको प्रतिष्ठा उँचो राख्न आग्रह गरे।
अध्यक्ष तथा सदस्य–सचिव शिवप्रसाद गुप्ताले मधेश खेलकुद परिषद्ले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले छनोट प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाइएको उल्लेख गर्दै राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे।
त्यस्तै प्रशिक्षण प्रमुख भरत यादवले खेलाडीहरूलाई मेहनत, अनुशासन र टोली भावनाका साथ मैदानमा उत्रिन सुझाव दिँदै सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा अतिथिहरूले छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई बधाई तथा राष्ट्रिय प्रतियोगिताका लागि सफलताको शुभकामना दिएका थिए।
