मोनु गुप्ता
जनकपुरधाम, २३ जेष्ठ
जनकपुरधाममा आज Janakpur Strongest Man & Woman Championship 2083 अन्तर्गत व्यापार संघको साभा हालमा बेन्च प्रेस तथा डेडलिफ्ट प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ।
युवाहरूलाई खेलकुद, फिटनेस तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूले आफ्नो शक्ति, अनुशासन र समर्पणको उत्कृष्ट प्रदर्शन गरेका थिए।
सनी सिंह राजपुतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता विजय भगत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो भने खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय भगत ले खेलकुदले स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “आजको समयमा युवालाई दुर्व्यसन, निराशा र सामाजिक विकृतिबाट जोगाउन खेलकुद भन्दा प्रभावकारी माध्यम अर्को हुन सक्दैन। शारीरिक रूपमा बलियो मात्र होइन, मानसिक रूपमा पनि सक्षम युवा नै राष्ट्रको शक्ति हुन्। जनकपुरमा यस्ता प्रतियोगिता नियमित रूपमा हुनुपर्छ र यसका लागि सबै पक्षले सहयोग गर्न आवश्यक छ।”
उनले फिटनेस संस्कृतिको विकासले स्वस्थ समाज निर्माणमा टेवा पुग्ने उल्लेख गर्दै युवाहरूलाई खेलकुद र व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरे।
कार्यक्रमका अध्यक्ष तथा आयोजक सनी सिंह राजपुत ले जनकपुरमा फिटनेस तथा स्ट्रेन्थ स्पोर्ट्स लाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले भने, “शक्तिशाली युवा नै समृद्ध नेपालको आधार हुन्। युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न र फिटनेसप्रति आकर्षित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। जनकपुरको इतिहासमा दोस्रो पटक आयोजना गरिएको यस प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।”
राजपुतले आगामी वर्षहरूमा प्रतियोगिता लाई अझ व्यापक बनाउँदै राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए। साथै, खेलकुद क्षेत्रको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र खेलप्रेमीहरूको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रतियोगिताको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। आयोजकहरूले यस्ता कार्यक्रमले जनकपुरधाममा खेलकुद तथा फिटनेस संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
