महोत्तरीमा काँग्रेसको नेता नेपाली भोक हडतालमा – Jaleshwortoday

महोत्तरीमा काँग्रेसको नेता नेपाली भोक हडतालमा

 January 5, 2022  
Congress

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ पौष

नेपाली काँग्रेसले पुस २७ गते निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै महोत्तरीमा भोक हडताल सुरु भएको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नभएको अवस्थामा जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो । मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको महोत्तरी काँग्रेसले जनाएको छ । जिल्लाका कार्यवाहक सभापति शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख गरेका छन् । यता पूर्व जिल्ला सचिव बजरंग नेपालीले निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाई विधि र विधान विपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु दुःखद भएको भन्दै उनले यहाँको समस्या समाधान नहुञ्जेलसम्मा भोक हडतालमा बस्ने बताए । विवादित ठाउँहरूको समस्या नटुङ्गाएसम्म अधिवेशन गरे भोक हडताल जारी राख्ने उनले स्पष्ट पारे ।