श्री मा.वि. महुलियामा चारकोठे भवनको शिलान्यास – Jaleshwortoday

श्री मा.वि. महुलियामा चारकोठे भवनको शिलान्यास

 August 21, 2026  
2

दिपक श्रेष्ठ मण्डल
शहिदनगरपालिका, ५ भदौ

शहिदनगरपालिकाको वडा नं ४, महुलियास्थित श्री माध्यमिक विद्यालयमा चारकोठे विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यले भवन निर्माण कार्य अघि बढाइएको हो।
शहिदनगरपालिकाका मेयर दिनेश प्रसाद यादवले शुक्रबार आयोजित कार्यक्रममा चारकोठे भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ब्रम्हानन्द ठाकुर, सदस्य रिंकु कुमारी महरा, वडा प्रतिनिधि राजेश्वर यादव तथा शिक्षक प्रतिनिधि विदेश कुमार सहनीलगायतको उपस्थिति थियो।
प्राविधिक इन्जिनियर श्याम यादवका अनुसार भवन निर्माणका लागि कुल ७८ लाख ४९ हजार ९ सय ३१ रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको थियो। ई–बिड (e-Bid) मार्फत टेन्डर आह्वान गरिएपछि कृष्णा कन्स्ट्रक्सनसँग ५३ लाख ५० हजार २ सय ९४ रुपैयाँ १७ पैसामा निर्माण सम्झौता भएको हो।
निर्माण हुने भवन दुई तले हुनेछ। भवनको तल्लो तलामा दुई कोठा र माथिल्लो तलामा दुई कोठा गरी जम्मा चार कोठा निर्माण गरिनेछ। भवन निर्माण कार्यमा रङ्गरोगनसहित आवश्यक फिनिसिङको कामसमेत समेटिएको प्राविधिक इन्जिनियर यादवले जानकारी दिनुभयो।
नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीका लागि थप व्यवस्थित र सुविधायुक्त पठनपाठनको वातावरण तयार हुने अपेक्षा गरिएको छ।