मो.इर्शाद
महोत्तरी, ७ श्रावण
महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा तीन वर्षीय बालक मनिकेश कुमार यादवको हत्या प्रकरणमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पन्च लाल गोलेका अनुसार गत जेठ २२ गते साँझ घरबाहिर खेलिरहेका मनिकेश अचानक बेपत्ता भएका थिए। खोजतलासका क्रममा जेठ २४ गते साँझ गाउँकै पानी पोखरीमा बोराभित्र उनको शव फेला परेको थियो। घटनापछि बालकले हातमा लगाएका चाँदीका बाला हराएको विषयलाई समेत आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
डीएसपी गोलेका अनुसार सूक्ष्म अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले साइकलमा करिब ३० किलोग्राम मल बोकेर खेततर्फ जाँदै गर्दा ब्रेक नभएको साइकल अनियन्त्रित भई विपरीत दिशाबाट दौडिँदै आएका बालकलाई ठक्कर दिएको स्वीकार गरेकी छन्।
उनका अनुसार ठक्करपछि बालकको मृत्यु भएको थाहा पाएपछि घटना लुकाउने उद्देश्यले शवलाई सिमेन्टको बोराभित्र राखी करिब ३०० मिटर टाढा रहेको पानी पोखरीमा फालेको र बालकका दुवै हातबाट चाँदीका दुई वटा बाला निकालेर लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
डीएसपी गोलेले अनुसन्धानका क्रममा हराएका चाँदीका दुई वटा बाला र घटनामा प्रयोग भएको साइकल बरामद गरिएको जानकारी दिए। साथै, किशोरीलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले बताए।
