जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० श्रावण
जनकपुरधामको जिल्ला समन्वय समितिको सभा हाँलमा आयोजित पिछडावर्ग ओबिसी महासभाको केन्द्रीय समितिको विस्तारित बैठक एउटा कार्यक्रम वीच समपन्न भएको छ ।
पिछडावर्ग जातजातिहरुको सर्वागीण विकासमा प्रदेश सरकारको भूमिकाबारे अन्तरसंबाद कार्यक्रमको अध्यक्षता पिछडावर्ग महासभाको केन्द्रीय अध्यक्ष राम कुमार महतोले गर्नु भएको थियो भने स्वागत मनतब्य महासभाको केन्द्रीय सदस्य पवन कुमार साहले दिनु भएको थियो । ज्ञातअज्ञात शहिदहरुलाई स्मरण गर्दै एक मिनेटको मौन धारण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित मधेस तथा अन्य प्रदेशका विभिन्न जिल्लाका करिब ५० वटा जातजातिहरुको संगठन पिछडावर्ग महासभाको पदाधिकारी तथा सदस्यहरुले आ—आफ्ना परिचय दिनुका साथै महासभाको विगतको कार्यहरुको पुनरावलोक गर्दै विभिन्न सकारात्मक सल्लाहहरु तथा आफूले भोगेका समस्याहरुका बारेमा खुलेर आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथि तथा मगही अन्तर्राष्ट्रिय परिषद काठमाडौंको अध्यक्ष डा.वीर बहादुर महतोले सो बैठकमा उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको संतोषजनक जवाफ दिनु भएको थियो । त्यसैगरी मगही फाउन्डेशनको अध्यक्ष तथा लेखक भुवनेश्वर महतो,महासभाको उपाध्यक्ष ईन्दु सिंह,पूर्वमहासचिव रामप्रित यादव,समाजसेवि ध्रुव नारायण यादव,सुमिन्त्रा मेहता लगायतका बक्ताहरुले आफ्ना महत्वपूर्ण सुझावहरु दिएका थिए । अन्त्यमा कार्यक्रमको अध्यक्ष महतोले कार्यक्रममा उठाइएका विभिन्न प्रश्नहरुको जबाफ दिदै उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । पत्रकार सम्मेलन मार्फत महासभाको अध्यक्ष महतोले पालिका,जिल्ला,प्रदेश तथा केन्द्रीय समितिको महाधिवेशन क्रमशःभाद्रदेखि मंसिरसम्म गर्न गराउन सबैजनालाई जानकारी गराउनु भएको थियो । साथै संगठन सुदृढीकरण,आर्थिक तथा साँगठनिक गतिविधि तथा ओबिसी समुदायको हक अधिकारको सुनिश्चित गर्न संचालन गरिने कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
हिंदी ओलंपियाड २०२६

सोही कार्यक्रममा डा.वीर बहादुर महतोको नेतृत्वमा हिंदी ओलंपियाड २०२६ को बैनरको लोकार्पण समेत गरिएको थियो ।
विश्व रंग फाउंडेशन (भारत)को आयोजनामा सेप्टेम्बरमा यो कार्यक्रम हुने अनुमान गरिएको छ ।
कार्यक्रमको संचालन तथा उद्घोषण महासभाको महासचिव नथुनी महतोले गर्नु भएको थियो ।

