जीवनराज दाहाल
बर्दिबास, २८ श्रावण
गायक तथा सङ्गीतकार बेलबहादुर परियारको नयाँ गीत ‘तिमीलाई मैले सानू सकिन बिर्सन’ बर्दिबासमा सार्वजनिक गरिएको छ । बर्दिबासस्थित विनायक होटलमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्ण गौतमले गीत तथा भिडियोको विमोचन गरेका हुन् ।
गीतमा बेलबहादुर परियारको स्वर तथा सङ्गीत र रचना रिमालको स्वर रहेको छ । नारायण दङ्गालको एरेन्ज र गोपाल दयालको रेकर्डिङ रहेको गीतको भिडियोमा सुजाता भट्टराई, अशोक लाखे, राजाराम श्रेष्ठ र सरु भुजेलले अभिनय गरेका छन् । भिडियोको छायाङ्कन शैलेस श्रेष्ठले गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी ए ए स्टार मिडियाले गरेको छ ।
परियारका अनुसार गीतको भाका करिब २० वर्षअघि आफूले गाएको हो । पुरानो भाकालाई आफ्नै सङ्गीतमा नयाँ स्वरूप दिएर अहिले सार्वजनिक गरेको उनले बताए । २०४७/४८ सालदेखि नै गीत–सङ्गीतमा सक्रिय परियारले युवावस्थादेखिको रहर पूरा गर्ने प्रयासस्वरूप गीत ल्याएको उल्लेख गरे ।
कार्यक्रममा प्रलेस मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे, बर्दिबास उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्र लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो, प्रतिष्ठानका मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मालगायतले गीतको सफलताको शुभकामना दिए ।
परियारले यसअघि ‘जाग नेपाली वीर नेपाली’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘गरौं है रमाइलो’ लगायतका लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका छन् । नयाँ गीत उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
