शहीद विरेन्द्र कुमार विच्छा र राजेश ठाकुरको शालिक अनावरण तथा शहीद स्मारकको उदघाटन – Jaleshwortoday

शहीद विरेन्द्र कुमार विच्छा र राजेश ठाकुरको शालिक अनावरण तथा शहीद स्मारकको उदघाटन

 September 10, 2026  
1

मो. इर्शाद

महोत्तरी, २५ भाद्र

मधेश प्रदेशका सभामुख रामअशिष यादवले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको परिकौली चोकमा नवनिर्मित मधेश आन्दोलनका शहीद विरेन्द्रकुमार विच्छा र राजेश ठाकुरको शालिक अनावरण तथा शहीद स्मारकको उदघाटन गर्नुभएको छ ।
वि.सं. २०७२÷०७३ मा भएको मधेश आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोलीबाट जलेश्वर नगरपालिका वडानं. ११ का विरेन्द्रकुमार विच्छा र वडानं. ९ का राजेश ठाकुरले शहादत दिनुभएको थियो ।
उहाँहरुको सम्मानमा जलेश्वर नगरपालिका वडानं. ९ को परिकौली चोकमा यस अघि पनि शालिक निर्माण गरिएको थियो तर २०७७ सालमा दुवै शहीदको शालिक चोरी भएपछि पूर्ननिर्माण गरि अनावरण गरिएको छ ।
सो शालिक अनावरण कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेशी समुदायको पहिचान, समृद्धि, आत्मसम्मान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न सबैलाई एकजुट हुन आव्हान गर्नुभयो ।
मधेश आन्दोलन अधिकार प्राप्तको लागि भएको र यसको लागि धेरैले ज्यान गुमाएको, घाइते भएको तथा कतिपय झुठा मुद्दामा फरार र जेलमा रहेको वताउनुहुदै संघीयता समाप्त पार्न चलखेल भइरहेकोले सजग र एकजुट हुन आव्हान गर्नुभयो ।
मधेश आन्दोलनपछि मधेशीहरुको आफ्नो पहिचान मिलेको छ । संघीयता, समावेशी प्रतिनिधित्व, संघीयतासंगै विकासको गति पनि मधेश आन्दोलनको उपलब्धि रहेकोले यो वचाउन सबै एकजुट हुनै पर्छ सभामुख यादवले वताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि संघीयता समाप्त पार्न र मधेश आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त गर्न राज्यले षडयन्त्र गरिरहेको छ । सबैलाई सचेत हुनैपर्छ ।’
संघीयता विरोधीहरुले संघीयता आर्थिक भार भएको भन्दै आएको चर्चा गर्नुहुदै सभामुख यादवले त्यो विल्कुलै गलत भएको वताउनुहुदै संघीयता आर्थिक भार होइन, यो नेपालको दुरदराजमा रहेका गरिब, पिछिडिएका वर्गहरुको विकास र उन्नतीको लागि हो भनेर बुझनुपर्ने आग्रह गर्नुभयो ।
आज जति सडक, विद्यालय, दलान, मठ मन्दिर निर्माण र संरक्षण भइरहेको छ यो सबै संघीय सरकारले नभई प्रदेश तथा स्थानीय सरकारको देन रहेको बताउनुहुदै संघीयता हामीहरुको लागि अवसर भएकोले यसको लागि सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।
चुनावको समयमा हुने मतपत्रलाई ‘कपाली तमसुक’को संज्ञा दिनुहुदै सभामुख यादवले भन्नुभयो, ‘चुनावको समयमा तपाईहरुले व्यालेट पेपरलाई एउटा कागजको टुक्रा सम्झनुहुन्छ । तर त्यो धेरै ठुलो शक्ति हो, एउटा कपाली तमसुक जस्तो हो, जसलाई हामीले पाँच वर्षको लागि आफ्नो अधिकार दिन्छौ ।’
उहाँले आ–आफ्नो बालबालिकाहरुलाई कुनै पनि हालतमा विद्यालय पठाउन र गुणस्तरीय शिक्षा दिन अभिभावकहरुसँग आग्रह गर्नुभयो । उहाँले एक साँझ भौकै भएर पनि बालबालिकालाई पढाउन आग्रह गर्नुहुदै त्यस्तो नगरिए समाज कहिल्यै पनि अगाडी बढन नसक्ने दावी समेत गर्नुभयो । छोरा र छोरीमा भेदभाव नगरि दुवैलाई समान शिक्षा दिन उहाँले आग्रह समेत गर्नुभयो ।
जलेश्वर नगरपालिका वडानं. ९ का वडाध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा भएको शहीदहरुको शालिक अनावरण कार्यक्रममा पूर्व शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, पूर्व सभासद डा.सुरेन्द्र यादव, जनता समाजवादी पार्टीका जिल्ला सभापति रामनरेश यादवलगायतका उपस्थिती रहेको थियो ।
कार्यक्रममा शहीद परिवारका सदस्यहरुलाई दोसल्लासहित सम्मान समेत गरिएको थियो ।