दिपक श्रेष्ठ मण्डल
काठमाण्डौ , २४ असोज
क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रमेश गिरी सर्वसम्मत चयन भएका छन् ।
मञ्चको आज सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा छैटौँ केन्द्रीय अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्करराज बुढाथोकी र सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा विपीन ढुङ्गाना, सङ्गीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन भएका छन् ।
अध्यक्षमा निर्वाचित गिरीले क्रियाशील पत्रकारहरूको साझा सङ्गठनका रूपमा मञ्चलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित, पेसागत सुरक्षा तथा अधिकारका सवालमा सशक्त रूपमा आवाज उठाउने बताए ।
पत्रकारहरूको पेसागत एकता, हकहितको संरक्षण र व्यावसायिक पत्रकारिताको प्रवर्द्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
