अयोध्यादेखि जनकपुरधामसम्म चारलेन रामजानकी मार्ग निर्माण हुने – Jaleshwortoday

अयोध्यादेखि जनकपुरधामसम्म चारलेन रामजानकी मार्ग निर्माण हुने

 January 24, 2022  
Janaki

जलेश्वरटुुडे समाचारदाता
धनुषा, ९ माघ

राम जन्मभूमी भारको अयोध्या देखि सीता जन्मभूमी नेपालको जनकपुरधामसम्म रामजानकी मार्ग निर्माण हुने भएको छ । भारत सरकारले यस चारलेन मार्ग निर्माणका लागि स्वीकृती दिएका छन् । रामजन्मभूमि भारत उत्तर प्रदेशको अयोध्यादेखि नेपालको जनकपुरधामस्थित सीताको जन्मभूमि जनकपुरधामसम्म चारलेन रामजानकी मार्ग सडक निर्माण गर्ने भारत सरकारले जनाएको छ । भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण विभाग मन्त्री नितिन नवीनलाई पत्र लेखेर यसको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्याकेज बिहार–२०१५ अन्तर्गत यस मार्गको २०० किलोमिटर उक्त भागलाई चार लेनको सडक बनाउने काम एनएचआईले गरिरहेको छ । जसको लागि बिहार सरकारले केन्द्र सरकारसंग स्वीकृति मागेको थियो । जसको स्वीकृतिसहितको पत्र विहार सरकारलाई केन्द्र सरकारले जानकारी गराएको हो । रामजानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट शुरु भएर जनकपुरधाममा अन्त्य हुन्छ। यो सडक मार्ग बस्ती –बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोर हुँदै जनकपुरधाममा अन्त्य हुने पत्रमा उल्लेख छ । ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु’, पत्रमा लेखिएको छ ।