औद्योगिक उत्पादन ७० प्रतिशतले घट्यो, अटोमोबाइल्स व्यवसाय २५ प्रतिशतमा सीमित – Jaleshwortoday

औद्योगिक उत्पादन ७० प्रतिशतले घट्यो, अटोमोबाइल्स व्यवसाय २५ प्रतिशतमा सीमित

 November 29, 2022  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ मंसिर

नेपाल उद्योग वाणिज्य महासंघले मागको कृतिम नियन्त्रणले थप मुलुकको अर्थतन्त्र संकटमा फसेको निष्कर्ष निकालेको छ । मंगलबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको महासंघले यस्तो जनाएको हो । आन्तरिक तथा बाह्य कारणले मुलुकको आर्थिक स्थिति गत वर्षदेखि नै बिग्रदै गएकोमा बेलैमा सचेत नहुँदा अहिलेको स्थिति आएको समेत महासंघले जनाएको छ । २०७८ साउनदेखि पुससम्म बैंकहरुले ४ खर्ब ५० अर्ब कर्जा लगानी गरेकामा सोको प्रभाव विदेशी सञ्चितिमा परेको र एकै वर्षमा करिब १७ प्रतिशत सञ्चिति घटेको महासंघको भनाइ छ । त्यसयता एकैपटक नियन्त्रण गर्न खोज्दा पछिल्लो ८ महिनामा करिब ६० अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको र जसले उद्योग कलकारखानादेखि विविध आर्थिक क्षेत्र प्रभावित हुन पुगेको महासंघको भनाइ छ । समस्या आउनु अघि नै कर्जाको अनियन्त्रित प्रवाह रोक्न नसकिएको तर पछिल्लो पटक विदेशी मुद्राको सञ्चितिसँगै तरलताको नाममा मागमा कृतिम नियन्त्रण गर्न खोजिएपछि थप जोखिम बढेको महासंघको भनाइ छ । फलतः जसको प्रभाव निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट,फलामे छड लगायतका उद्योगहरूको उत्पादन ७० प्रतिशत माथिले घटेर औसत ३० प्रतिशतमा झरेको छ भने दैनिक उपभोग्य वस्तुहरूको बिक्री १८ प्रतिशत घटेको महासंघको औँल्याएको छ । यस्तै,विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशतले संकुचन आएको छ भने आयात प्रतिबन्धको प्रमुख प्रभावित क्षेत्र अटोमोबाइल्स क्षेत्रको व्यवसाय ७५ प्रतिशतले घटेको महासंघको भनाइ छ ।यस्तै,बीमा क्षेत्र ३० प्रतिशतले घट्दा होटल तथा पर्यटन व्यवसायको कारोबार ३० देखि ४० प्रतिशत मात्र चलेको महासंघले जनाएको छ ।