महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप – Jaleshwortoday

महिन्द्रलाई मन्त्री बनाउन बाबुरामको दौडधुप

 January 5, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ पौंष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक सरकारमा आफ्नो पार्टी माओवादी केन्द्रबाट नयाँ सांसदलाई अवसर दिने मनस्थितिमा छन् । उनले पार्टीका पदाधिकारी र आकांक्षी नेताहरूलाई समेत युवा र सक्षम व्यक्तिलाई सरकारमा लैजाने बताइरहेका छन् ।

माओवादी केन्द्रमा अब थपिने मन्त्रीको सूचीमा पार्टीका युवा सांसदहरू सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, रेखा शर्मा, हितबहादुर तामाङको चर्चा भइरहेको छ । यससँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि उक्त सूचीमा छन् ।

नेसपासँग पार्टी एकताको विषय अघि बढेसँगै यादवलाई मन्त्री बनाउन उक्त पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले दौडधुप थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर मनाउने प्रयास गरिसकेका छन् ।

यसै विषयमा छलफल गर्न भट्टराई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । भट्टराईको सचिवालयले ओलीसँगको भेटमा सत्ता गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यबारे छलफल भएको जनाएको छ । तर बालकोट निकट स्रोतका अनुसार भट्टराईले आफ्नो पार्टीका अर्का अध्यक्ष यादवलाई मन्त्रिपरिषदमा लैजाने विषयमा छलफल गरेका थिए ।

उनको प्रस्तावमा एमाले अध्यक्ष ओलीले सकारात्मक भएको तर धेरै दलका आकांक्षी समेट्नुपर्ने भएकाले कसरी समाधान गर्ने भनेर छलफल गर्नुपर्ने बताएका थिए ।

‘यादव उहाँको पार्टीबाट निर्वाचन जितेका एकजना मात्रै सांसद हुनुहुन्छ । उहाँलाई पनि सरकारमा सामेल गराउनुपर्‍यो भन्ने भट्टराईजीको प्रस्ताव थियो’, एक नेताले भने, ‘माओवादीको चुनाव चिह्न लिएर चुनाव लडेकाले सोही पार्टीको भागबाट मन्त्री बनाउँदा सबैलाई समेट्न सजिलो हुन्छ भन्ने अध्यक्षको सुझाव छ । तर त्यसै कारण उहाँलाई मन्त्री नबनाउने भन्ने हुँदैन होला ।’