मधेश प्रदेशमा मन्त्रालय टुंग्याउन सकस – Jaleshwortoday

मधेश प्रदेशमा मन्त्रालय टुंग्याउन सकस

 January 12, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ पौंष

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका सरोजकुमार यादव नियुक्त भएसँगै दलहरु मन्त्रालयको भागबन्डामा व्यस्त भएका छन् ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार १२ बजे पद तथा गोपनियताको शपथ लिने छन् ।

उनले आफूलाई समर्थन गरेका दलबाट कम्तीमा एक–एकजना मन्त्री हुने गरी सानो मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् ।

तर दलहरुले पहिला मन्त्रालय टुंगो लगाएर मात्रै शपथ ग्रहण गराउने अडानमा छन् । महत्वपूर्ण मन्त्रालयमा दलहरु आआफ्नो दावी गरेपछि टुंगो लगाउन सकस भएको छ ।

मन्त्रालय भागबन्डाको लागि केन्द्रमा छलफल भए पनि टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् । प्याकेजमै सहमतिको प्रयास भइरहेको जनमतका नेता वीपी साहले जानकारी दिए ।

मधेस प्रदेशमा यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । यादवलाई लोसपाले पनि समर्थन जनाएको छ । उनलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् । माओवादी केन्द्रका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ ।

जसपाले मुख्यमन्त्री बाहेक ३, एमाले ३ र जनमतले पनि तीन मन्त्रालयको दावी गरेका छन् । तीनै दलको प्रथामिकतामा अर्थ, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय छ । त्यस्तै माओवादी केन्द्रले २, लोसपाले कम्तिमा १ मन्त्रालय दिन माग गरिरहेका छन् । मधेश प्रदेशमा १० मन्त्रालय छ ।

यो प्रदेशमा एमालेले सभामुख र जनमतले उपसभामुख पाउने भागबण्डा समेत भइसकेको छ । एमाले ३, जसपा र जनमतले २–२ मन्त्रालय भागबण्डामा पाउने सम्भावना छ । बाँकी तीन मन्त्रालयबाट माओवादी केन्द्र, लोसपा र स्वतन्त्र सांसदलाई दिने तयारी भएको श्रोतले जनाएको छ ।