भारतको सर्वोच्च अदालतले सिक्किमे नेपाली भाषीलाई ठहर्‍यायो आप्रवासी विदेशी – Jaleshwortoday

भारतको सर्वोच्च अदालतले सिक्किमे नेपाली भाषीलाई ठहर्‍यायो आप्रवासी विदेशी

 February 2, 2023  
rr

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ माघ

कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन तीव्र भएको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार गरेको भन्दै सिक्किमका नागरिक आक्रोशित भएका हुन् । गान्तोक लगायत मुख्य बजारहरुमा प्रदर्शन चर्केको भारतका सञ्‍चारमाध्यमहरुले लेखेका छन् । सिक्किम स्टुडेन्ट्स एशोसियसन दिल्लीलगायत संस्थाले सर्वोच्चको फैसलाविरुद्ध वक्तव्य जारी गर्दै यही रबैया कायम रहे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । ‘यसअघि समेत हामीलाई परदेशीजस्तो गरी व्यवहार गरिन्थ्यो, अब त अदालतकै फैसलामा हामीलाई गलत धारणा र परिभाषाको शिकार बनाउन खोजिएको छ,’ एशोसियसनका अध्यक्ष रिगेल तामाङले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको आठौं अनुसूचीको खिलाफ हुनेगरी आएको फैसलाले नेपाली भाषा बोल्ने नागरिकको भावनामाथि अपमान भएको छ । हामी यसको विरोध गर्छौं र पुनरावेदनका लागि अपील पनि गर्छौं ।’ द प्रिन्ट डिजिटल पत्रिकाका अनुसार सिक्किमको सरकार चलाइरहेको पार्टी, विपक्षी सबै कार्यकर्ताहरुले अदालती कदमको विरोध गरेका छन् ।