भ्रष्टाचार भण्डाफोर हुने डरले जसपा आफै राखे समाजिक विकास मन्त्रालय – Jaleshwortoday

भ्रष्टाचार भण्डाफोर हुने डरले जसपा आफै राखे समाजिक विकास मन्त्रालय

 February 3, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० माघ

मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचारको भण्डाफोर हुने डरले जसपाले आफै राखेको खुलेको छ । यस अघि पहिलो पाँचर्वे पूर्ण कार्यकालमा जसपा)ले नेतृत्व गरेको उक्त मन्त्रालयमा ७८ करोडभन्दा बढी बेरुजु देखिएको थियो । जसमा व्यापक अनियमितता भएको आशंका छ । छानविन भए जसपाकै तत्कालिन मन्त्री नवलकिशोर साह र तत्कालिन मुख्यमन्त्री लालबाबु राउत नै फँस्ने सम्भावना देखिएपछि उक्त मन्त्रालय पुनः जसपाले नै राखेको छ । मधेश प्रदेश सरकार गठनअघि दलहरुबीच भएको सहमति अनुसार समाजिक विकास मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । जनमत पार्टीका नेताहरुले आफ्नो भागमा परेको समाजिक विकास मन्त्रालयमा छानविन गर्ने र भ्रष्टाचार उजागर गर्ने बताउँदै आएका थिए । मन्त्रालयमा भएको भ्रष्टाचार छानविन हुने डरले सहमति विपरीत जसपाले उक्त मन्त्रालय आफ्नै भागमा राखेको छ । कोरोना महामारीका क्रममा खरिद भएका स्वास्थ्य उपकरण एवं औधषिमा ठूलो भ्रष्टाचार भएको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । यसैगरी प्रदेश मातहतका अस्पतालको नाममा खरिद भएको सामाग्री अस्पतालमा नरहे पनि रकम भुक्तानी गरिएको देखिएको छ । यसैगरी, विद्यालयको भवन निर्माण, सामुदायिक भवन निर्माणलगायतमा ७८ करोडभन्दा बढी रकम भ्रष्टाचार भएको देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरी रहेको छ । समाजिक विकास मन्त्रालयमा भएको तीन वटा भ्रष्टाचार मुद्दामा अख्तियारमा छानविन भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । अझै यस्ता कयौं भ्रष्टाचारहरु सार्वजनिक हुन बाँकी रहेको छ । शुक्रबार भएको मन्त्री परिषद् विस्तारमा उक्त मन्त्रालय जसपामा नवप्रवेशी सुरिता साहलाई दिइएको छ । स्रोतका अनुसार उक्त मन्त्रालयमा भने पूर्वमन्त्री नवलकिशोर साहका छोराको विशेष निगरानी हुने छ । यता शुक्रबार भएको मन्त्री परिषद् विस्तारमा जनमत पार्टीलाई समाजिक विकास मन्त्रालय नदिइ शिक्षा, विज्ञान, प्रविधि एवं वाणिज्य मन्त्रालय दिइएको छ । हाल उक्त मन्त्रालयको कार्यलयसमेत रहेको छैन । जनमतले पाएको उक्त मन्त्रालयलाई अन्य मन्त्रालयका सचिवले हेर्ने गरेको छ भने हाल उक्त मन्त्रालयमा जम्मा २ लाख रकम मौजुदा रहेको जनाइएको छ ।