महोत्तरीमा प्रहरी चौकीकै छेउमा वृद्धको कुटिकुटि हत्या – Jaleshwortoday

महोत्तरीमा प्रहरी चौकीकै छेउमा वृद्धको कुटिकुटि हत्या

 February 8, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ माघ

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटपिट गरी वृद्धको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०र७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०-५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका छन् । आज बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले हात, मुक्का र लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेऊमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले आएर गालीगलौज गर्न थालेको र पछि हातपात गर्दै बेस्सरी कुटपिट गरेका थिए । सोही क्रममा वृद्ध हरिदेवले त्यहाँ खटिएको प्रहरीलाई बचाउन गुहार पनि मागेका थिए । तर प्रहरीले उनलाई बचाउन नगएको र उनलाई प्रहरीकै अगाडि सुरेन्द्रले कुटीकुटी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली पुगेर शवको सर्जमिन मुचुल्का गरिरहेको छ भने स्थानीयवासीले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरेका छन् ।