फागुनसम्म मोटरसाइकलको कर तिरे पाँच वर्षको जरिवाना छूट – Jaleshwortoday

फागुनसम्म मोटरसाइकलको कर तिरे पाँच वर्षको जरिवाना छूट

 February 9, 2023  
rr

जलेश्वरटुडे समाचारदाता
धनुषा, २६ माघ

आगामी फागुनभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षको जरिवाना तिर्नु नपर्ने भएको छ। बिहिबार यातायात व्यवस्था कार्यालय, काठमाडौंले एक सूचना प्रकाशित गर्दै मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट दिने व्यवस्था गरिएको जनाएको छ। यातायात व्यवस्था कार्यालयले भनेको छ, ‘२०७९ साल फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेकाले विगत आर्थिक वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी साधनका सवारी धनीहरूले उक्त व्यवस्थाको लाभ लिनहुन सूचित गर्दै आफ्नो नाममा दर्ता कायम सवारी साधनहरूको कर जरिवाना तथा नविकरण दस्तुरहरू समयमै भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ।’ त्यस्तै, प्रयोगमा नआएका मोटरसाइकलको पनि लगत कट्टा गर्न सकिने भएको छ। यसमा पनि जरिवाना नलाग्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ।