उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न – Jaleshwortoday

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न

 March 28, 2023  
aa

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ चैत्र

महोत्तरीको जलेश्वर लगायत सम्पूर्ण मिथिलाञ्चलमा आज उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मधेश भरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरिएको छ ।

चैती छठ पर्व महोत्तरीको जलेश्वर, सुगा,पिपरा, मटिहानी,औरही,रामगोपालपुर,सम्सी, बर्दिबास,लगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । त्यसैगरी मधेस प्रदेशको राजधानी जनकपुरधाममा समेत ब्रतीहरुले बिहानै उदाउदो सूर्यलाई अर्घ दिई चैते छठ समपन्न गरेका छन् । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

सूर्यको उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्छ ।