घरदैलोको सरकार पनि उस्तै, ८ महिनाको विकास खर्च १६ प्रतिशतमात्र – Jaleshwortoday

घरदैलोको सरकार पनि उस्तै, ८ महिनाको विकास खर्च १६ प्रतिशतमात्र

 April 4, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २१ चैत्र

आर्थिक वर्षको अन्तिम महिना, त्यसमा पनि अन्तिम साता विकास बजेटको ठूलो हिस्सा खर्च गर्ने प्रवृत्ति संघीय सरकारको पुरानै रोग हो । मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि कम्तीमा स्थानीय सरकारमा यो प्रवृत्ति दोहोरिंदैन भन्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्पन्न भइसक्दा पनि स्थानीय सरकारहरू संघीय सरकारकै बाटोमा हिंडिरहेका छन् । त्यसमा पनि सबैभन्दा धेरै विकास बजेट खर्च गर्ने जिम्मेवारी पाएका महानगरपालिकाहरूमा यो प्रवृत्ति मौलाएको देखिन्छ । महानगरहरू बजेटको आकार र खर्च गर्ने अधिकारको रूपमा शक्तिशाली छन् । तर, विनियोजन दक्षता र कार्यान्वयन क्षमताका दृष्टिकोणबाट भने उनीहरू कमजोर देखिएका छन् । अहिले चालु आर्थिक वर्ष २०७९-८० को आठौं महिना चलिरहेको छ । आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी हुँदा पनि महानगरहरूको विकास बजेटको ‘फिगर’ दयनीय देखिन्छ । ८ महिनासम्म देशभरका ६ वटा महानगरको विकास बजेट खर्च औसत १७.२१ प्रतिशत मात्रै  छ । ६ वटा महानगरको कुल विकास बजेट २७ अर्ब ९२ करोड ८ लाख रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म यी महानगरपालिकाले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ मात्रै विकास बजेट खर्च गरेका छन् ।