जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु – Jaleshwortoday

जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु

 April 17, 2023  
jj

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ बैशाख

सदरमुकाम जलेश्वरमा पाँच वर्षपछि हुन लागेको संसारीमाई महापूजाको तयारी सुरु भएको छ। जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर अगाडि रहेको वरुणसरको पूर्वी मुहारमा अवस्थित संसारीमाई मन्दिरका पुजारी महेन्द्र मुखियाले जेठ २६ गतेका लागि महापूजाको तिथि तय गरेपछि तयारी सुरु भएको हो। संसारीमाई महापूजा मूल समारोह समिति निर्माण गरेर साताव्यापी कार्यक्रम गर्ने गरी तयारी सुरु गरिएको समितिका अध्यक्ष अशोककुमार साहले जानकारी दिनुभयो।

उहाँले जेठ २० गतेदेखि २६ गतेसम्म साताव्यापी कार्यक्रमको आयोजना गरी महापूजालाई भव्यता प्रदान गरिने बताउँदै यस कार्यक्रमबारे निर्णय भइनसकेको जानकारी दिनुभयो।

सरसफाइदेखि लिएर पशु बलिसम्मको कार्यक्रममा सहजताका लागि नगरप्रमुख सुरेश साह सोनारको संयोजकत्वमा सुरक्षा निकाय, विभिन्न सङ्घसंस्था, वडाध्यक्ष सहभागी सल्लाहकार समितिसमेत बनाइएको उहाँले बताउनुभयो।

करिब एक करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको यस महापूजामा १० हजारभन्दा बढी बोका, हाँस, कुखुरा, परेवा, सुँगुर र राँगाको बलि प्रदान हुने अनुमान रहेको बताउँदै समितिका अध्यक्ष साहले भन्नुभयो, “विभिन्न ठाउँबाट प्राप्त हुने सहयोग तथा पशु बलिका लागि लिइने शुल्कबाट महापूजाको खर्च सङ्कलन गरिनेछ।”

संसारीमाई महापूजामा जलेश्वर नगरको प्रत्येक घरबाट अनिवार्य रूपमा बलि दिइने चलन रहेको छ भने संसारीमाईसँग भाकल गरेका भारत तथा विभिन्न जिल्लाका भक्तजनले समेत आ–आफ्ना गच्छेअनुसार बलि दिने गरेका छन्।

परापूर्वकालमा महामारी आएर दर्जनौँ व्यक्तिको मृत्यु भइरहेको बेला स्थानीयवासीले संसारीमाइलाई आह्वान गरी महामारी रोके पूजा गर्ने वचनवद्धता प्रकट गरेपछि माता संसारीमाईले महामारी रोकिदिएको र सोही बेलादेखि स्थानीयवासीले माता संसारीमाईको पूजा गर्दै आएको किंवदन्ती रहेको समितिका अध्यक्ष साहले बताउनुभयो। यो पूजा कहिले र कसले सुरु गरेको भन्ने बारेमा कसैलाई पनि जानकारी नभएको बताउँदै उहाँले जलेश्वर नगरको रक्षा गर्ने देवीका रूपमा संसारीमाईलाई लिने गरिएको जानकारी दिनुभयो।

यसअघि प्रत्येक १२ वर्षमा यो महापूजा हुँदै आएको थियो । त्यसपछि सात वर्षमा र केही वर्षदेखि पाँच÷पाँच वर्षको अन्तरालमा महापूजा भइरहेको जनाइएको छ। संसारीमाईको पूजा र भाकल गर्नाले दैवी प्रकोप नलाग्ने, सुख समृद्धि र शान्ति पाइने विश्वास रहेको छ। संसारीमाई महापूजामा यसवर्ष वृन्दावनका प्रसिद्ध रासलीला तथा प्रवचनकर्ता ल्याइने र १० लाखभन्दा बढी दर्शनार्थी पूजापाठमा सरिक हुने अनुमान रहेको मुल समारोह समितिले जनाएको छ।