मिटर ब्याज पीडितलाई निवेदन दिन जाँचबुझ आयोगको आग्रह – Jaleshwortoday

मिटर ब्याज पीडितलाई निवेदन दिन जाँचबुझ आयोगको आग्रह

 April 27, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ बैशाख

 मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ । मिटर ब्याज पीडितको माग सम्बोधनका लागि गठन गरिएको जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन गर्न लागेको हो । बिहीबार आयोगले उपलब्ध भएसम्मका सम्पूणर् प्रमाण सहित १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ । सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

कार्यालय स्थापना भएसँगै मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए। आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते भित्र निवेदन दिइसक्न आग्रह गरेको छ ।

आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । अध्यक्ष कार्कीले पीडितहरुले आफूसँग उपलब्ध रहेका सवुद प्रमाण सहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए। उनले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको बताए।