मधेस प्रदेशको मुख्यमन्त्री यादव काठमाडौमा,विशेष निर्णय हुने सम्भावना – Jaleshwortoday

मधेस प्रदेशको मुख्यमन्त्री यादव काठमाडौमा,विशेष निर्णय हुने सम्भावना

 May 5, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ बैशाख

प्रदेश सरकार विस्तार गर्ने विषयमा छलफल गर्न मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बिहीबार काठमाडौँ पुगेका छन् ।

तीनै तहका सरकार स्वायत्त भएपनि निर्णय भने केन्द्रीय शीर्षस्थ नेताहरुकै पोल्टामा छ । त्यसैले, मुख्यमन्त्री यादव सरकार विस्तारबारे टुंगोमा पुग्न काठमाडौँ गएका हुन् ।

एमाले बाहिरिएपछि सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुने भएका छन् ।

सरकारमा सहभागी हुन लागेको नेपाली काँग्रेस र लोसपा दुबैले नेतृत्वमै दाबी गर्दा जसपा नेतृत्वको सरकारलाई कठिन भएको छ । मधेसमा जसरी पनि उपेन्द्र यादवले आफ्नो नेतृत्वको सरकार राख्ने अडानमा छन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार जुनसुकै अवस्थामा मधेस प्रदेश सरकारको नेतृत्व जसपाले नै गर्छ । यता उपचुनावको बेलासरकारको नेतृत्व आफूलाई दिइनेसम्झौता भएको नेपाली काँग्रेस र लोसपाले दाबी गरिरहेका छन् । यद्यपि मुख्यमन्त्रीसहित जसपाका शीर्षस्थ नेताहरु भने यस विषयमा मौन छन् ।

त्यसो त गठबन्धन घटक दलका शीर्ष नेताहरु पनि जनकपुरधाममै आएर नेतृत्व परिवर्तन हुने पटक पटक अभिव्यक्तिहरु दिइरहेका छन् । यसअघि जनकपुरधाममा नै आएर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड, वरिष्ठ नेता विमलेन्द्र निधि र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि यस्ता अभिव्यक्ति दिइसकेका छन् ।

उनीहरुले नेतृत्व लिन कसरत गरिरहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव भने मधेसमा आफ्नै नेतृत्व जोगाउने कसरतमा छन् ।

पहिलेको गठबन्धनमा जसपा र जनमतबीच सरकारको नेतृत्व आलोपालो गरी गर्ने सहमति भएको थियो । सो अनुरुप पहिलो चरणमा जसपाले नेतृत्व गरिरहेको छ । तर, उपराष्ट्रपतिको निर्वाचन र बारामा भएको उपनिर्वाचनमा जनमत पार्टीले गरेको असहयोगका कारण सम्बन्ध चिसिएको छ ।

यस क्रममा जसपा जनमतलाई मधेस सरकारबाट धपाउने मुडमा छ । तर जनमतको बर्हिगमनले केन्द्र सरकारलाई समेत असर पर्ने देखिएकोले गठबन्धनबाट ननिकाल्न कुरा उठिरहेको छ ।

स्रोतका अनुसार जसपाले सरकार आफ्नै नेतृत्वमा राखेर काँग्रेसलाई ३ मन्त्रालय र १ राज्यमन्त्री र नेकपा एस तथा लोसपालाई १÷१ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा छ ।

यता मधेस प्रदेश नेपाली काँग्रेस दलका नेता कृष्णा यादवले गठबन्धनमा रहेका दलहरुका बैठक आज शुक्रबार ४ बजे बस्न लागेको जनाएका छन् । उनले सरकार विस्तारबारे सम्भवतः आजै निर्णय भइसक्ने बताए । तर पद बाँडफाँटबारे औपचारिक रुपमा केही जानकारी नभएको उनको भनाई थियो ।