रूपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा सम्बन्धीे पुनर्ताजगी तालिम सम्पन्न – Jaleshwortoday

रूपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा सम्बन्धीे पुनर्ताजगी तालिम सम्पन्न

 July 11, 2023  
tt

सोमन दियाली
सर्लाही, २६ असार

समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत रुपान्तरण अभियन्ताहरुका लागि तीन दिने रुपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा सम्बन्धी पुनरताजगी तालिम मंगलवार सम्पन्न भएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाहीको साझेदारीमा सञ्चालित सिकाइ) परियोजनाले आइतबारदेखि लालबन्दीस्थित युनाईटेड होटलमा ३० जना रुपान्तरण अभियन्ताहरुलाई पुनरताजगी तालिमको तालिम दिन शुरु गरेको थियो ।
पुनरताजगी तालिमको समापन कार्यक्रममा बोल्नु हुँदै विशिष्ट अतिथी चन्द्रनगर गाउँपालिकाका प्रमुख गापा अध्यक्ष राजकुमार महतोले रुपान्तरण कक्षाले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । तालिममा सिकेका कुरालाई निरन्तर व्यवहारमा उतार्दै आफूसहित समाज रुपान्तरणमा लाग्न शुभकामना दिनुहुँदै अध्यक्ष महतोले चन्द्रनगर गाउँपालिकाकाले बालबालिकाको क्षेत्रमा धेरै नै काम गर्न खोजेको बताउनुभयो ।
उहाँले रुपान्तरण कक्षाको निरन्तरताको लागि पालिकाको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले गाउँसभामा बालबालिकासम्बन्धी कार्यक्रमहरु समेत पेश गरेको बताउनुहुँदै उहाँले सडक तथा भौतिक विकासले मात्रै समाज परिवर्तन र विकास नहुने भएकोले सामाजिक जागरणमा समेत पालिकाहरुले काम गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी तालिम समापन कार्यक्रमका प्रमुख अतिथी ब्रह्मपुरी गाउँपालिकाका बयोवृद्ध अध्यक्ष रामपदारथ साह तेलीले रुपान्तरण कक्षामा सिकेका जीवनोपयोगी सीपले लाखौं मानिसहरु रुपान्तरित हुन सकुन् भन्ने शुभकामना दिनुहुँदै आफूले पनि पालिकास्तरबाट रुपान्तरण कक्षाको निरन्तरताको लागि सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाँले विशेषगरी अभिभावकहरुलाई बालबालिकालाई अनावश्यक रुपमा मोवाईल प्रयोग गर्न बन्देज गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हुन त मोवाईल सञ्चारको एउटा सुलभ माध्यम हो । चेतना र ज्ञानगुनका कुरा फैलाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यसको प्रयोग भन्दा दुरुपयोग बढी भएकोले प्रयोगको लिमिटेशन हुनु पर्छ । पढ्ने उमेरका बालबालिकालाई धेरै समय मोवाईल प्रयोग गर्न दिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो ।’
समापन कार्यक्रममा आयोजक संस्था आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले सिकाई परियोजना सफल बनाउनमा पालिका र यसका प्रमुखहरुको उल्लेख्य सहयोग रहेको बताउनुभयो । उहाँले विशेषगरी रुपान्तरण कक्षा सञ्चालनमा चन्द्रनगर गाउँपालिकाका प्रमुख अध्यक्ष राजकुमार महतोले खेल्नुभएको भूमिका सराहनीय रहेको बताउनुभयो ।
उहाँले सिकाई परियोजनाको समयावधि सकिन लागेकोले रुपान्तरण कक्षाहरुलाई भने निरन्तरता दिन पालिका र यसका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
सहयोगी संस्था आरआरपिकेकी बोर्ड सचिव लिला पनेरुको अध्यक्षतामा समापन भएको कार्यक्रममा प्रशिक्षकहरुलाई सम्मान पत्र तथा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।