अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचको अवरोध पहिचान सम्बन्धि कार्याशाला सम्पन्न – Jaleshwortoday

अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचको अवरोध पहिचान सम्बन्धि कार्याशाला सम्पन्न

 August 7, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ श्रावण

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशको संयुक्त आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचको अवरोध पहिचान सम्बन्धि १ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

उक्त कार्यक्रम अपाङ्गता भएका ब्यक्तिहरूको न्यायमा पहुँचका अवरोधहरूको पहिचान गरी उक्त अवरोधहरू हटाउन तथा अपाङ्गता भएका ब्यक्तिहरूको लागि अवरोध हुने न्यायिक प्रणालीहरूमा सुधार गरी न्यायमा पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको हो ।
सीबीएम ग्लोवल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीतामा सञ्चालित ूहामीलाई पनि समावेश गरू परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाको अध्यक्षता र मधेश प्रदेशका मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुरको प्रमख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रेखा दत्तले सञ्चालन गर्नु भएको सो कार्यक्रमा स्वागत मन्तव्य राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश व्यवस्थापक प्रकाश नेपालीले गर्नु भएको थियो । उक्त मन्तव्य पछि जनवकालत अधिकृत चन्द्र राईले पहुँचयुक्त परीक्षणको उद्देश्य, सार्वजनिक संरचनाहरूको वर्तमान अवस्था र अवरोधमुक्त भौतिक संरचनाका लागि प्राविधिक सुझावहरूको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
सो कार्याशाला गोष्ठीमा राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाले न्यायमा पहुँचका लागि आयोगले गरेको प्रयास तथा अनुसन्धानले उजागर गरेका सवाल र समाधानका उपायहरूको वारेमा सहजिकण गर्नु भएको थियो ।

त्यसैगरी जिल्ला न्यायधिश दुर्गा खड्काले अपाङ्गता अधिकार ऐन २०७४, नियमावली २०७७ र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा ९, १२ र १३ ले दिएका कानुनी प्राव्धानहरूको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्याशाला गोष्ठीका समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले पहुँचयुक्त संरचना निर्माणका लागि ईच्छाशक्तिको आवश्यकता रहेको कुरा बताउनु भयो । उहाँले राज्य भनेकै हामी हौं र हामी नै परिवर्तनको सम्वाहक पनि भएकाले प्रतिवेदनले दिएका सुझावहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सवैले दायित्वको रूपमा लिनु पर्ने कुरा बताउनु भयो । उहाँले राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई आफ्नो कार्यालयमा आमन्त्रण गर्नु हुँदै आफ्नो कार्यालय पहुँचयुक्त बनाउनका लागि प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्याशाला गोष्ठीका अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोग प्रमुख मञ्जु खतिवडाले अपाङ्गता भएका व्यक्तिका अधिकारसँग जोडिएका सवाल तथा यस प्रतिवेनले दिएका सुझावहरूलाई यथासक्य कार्यान्वयनमा ल्याउनका लागि आग्रह गर्नु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको न्यायसँग सम्वन्धित विषयका उजुरीहरू आईरहेको हुँदा त्यस विषयमा आयोगको गम्भिर ध्यानाकर्षण भईरहेको छ भन्नु हुँदै आयोगले पत्रचार गर्नुपूर्व नै त्यस्ता समस्याहरूको समाधान होस भन्ने चाहेको वताउनु भयो ।