गौर हत्या काण्डको दोषीलाई कारबाही प्रकृया अगाडि बढाउन गृहले गर्‍यो पत्राचार – Jaleshwortoday

गौर हत्या काण्डको दोषीलाई कारबाही प्रकृया अगाडि बढाउन गृहले गर्‍यो पत्राचार

 August 27, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
रौतहट, १० भाद्र

गृह मन्त्रालयले गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।

गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए ।

१७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी केन्द्रको बीचमा भएको झडपमा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो ।

कारबाहीको लागि सरकारमाथि दबाब बढाएपछि साउन २३ गते गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच पाँच बुँदे सम्झौता भएको थियो । सोही सम्झौता कारबाहीको प्रक्रिया अगाडि बढाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

संघर्ष समिति र गृह मन्त्रालयबीच भएको सम्झौताअनुसार कार्यलाई अगाडि बढाउन आफुहरुको तर्फबाट पत्र पठाइसकेको उनले भने । त्यसको आधारमा अनुसन्धान तथा कार्यवाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

घटनामा परी घाइते भएकालाई उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र आर्थिक सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय पत्र पठाउने काम भएको उनले बताए ।

घटनाको विषयमा त्यस समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएअनुसार गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।

यता, गौर घटनाका कारण जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारप्रति असन्तुष्टि जनाएका छन् । उनले उच्च स्तरीय छानबिन आयोगको माग गरेका छन् ।