जनकपुरमा भोलिदेखि हुने एमालेको मधेश अधिवेशनको तयारी पूरा, ओलिले उद्घाटन गर्ने – Jaleshwortoday

जनकपुरमा भोलिदेखि हुने एमालेको मधेश अधिवेशनको तयारी पूरा, ओलिले उद्घाटन गर्ने

 October 10, 2023  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ असोज

नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रको भवनमा भोलिदेखि हुने अधिवेशन हुने छ ।

अधिवेशनको लागि मञ्च तथा पण्डाल लगायत सम्पूर्ण तयारी पूरा भएको एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनका अनुसार भोल पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तथा नेताहरूले सम्बोधन गर्नेकार्यक्रम रहेको छ ।

अधिवेशनका लागि ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको हो ।
मधेश प्रदेशको आठवटै जिल्लाबाट अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।
अधिवेशनमा ४० लाख रुपैयाँभन्दा बढी खर्च हुने एमालेको अनुमान छ, जसका लागि प्रतिनिधिहरूबाट दुई हजार रूपैयाँ रकम संकलन गरिने छ । यसैगरी प्रदेशसभा सदस्यहरुबाट १० हजार, पालिका प्रमुखबाट २५ हजार र पालिका उपप्रमुखहरुबाट १० हजार रूपैयाँका दरले आर्थिक सहयोग संकलन गरिएको प्रदेश अध्यक्ष यादवले बताए ।