धनुषाधामको प्रचारप्रसारमा ध्यान दिऔं – Jaleshwortoday

धनुषाधामको प्रचारप्रसारमा ध्यान दिऔं

 January 16, 2024  
Untitled

  • प्रा.पवन कुमार साह

शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वस्फूर्तरूपमा अध्यात्मिक केन्द्रबिन्दु रहँदै आएको धनुषाधामलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम स्थानीय युवाले गरिरहेको छन् । धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले अभियानको रुपमा समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर लगायतका स्थानको सरसफाइ गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्दै आएका छन् । यस्तै, धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ । धनुषाको धनुषाधाममा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने एक महिने मकर मेला आज (सोमबार) देखि सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गतेदेखि लाग्दै आएको धनुषाधामको मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो । जनकपुरधामदेखि करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा छिमेकी देश भारतका गरी लाखौंको सङ्ख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ । धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भएपनि अन्य दिनको तुलनामा मेलामा बढी दर्शनार्थी आउने गर्दछन् । धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पुरा हुने भएकाले दर्शनार्थीहरुको अत्यधिक भिड लाग्ने गरेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्वरमा श्रीरामले वाण चलाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषधाममा खसेको धार्मिक मान्यता छ । धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने जनविश्वास छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । यहाँ वर्षेनी धनुषको आकार बढ्दै गएको छ । यहाँ मङ्सिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । धनुषाधाम नगरपालिकाले समेत यसलाई पर्वको रुपमा मनाए पनि यसको लोकप्रियता बढाउन डिजिटल प्रचारप्रसार तथा प्रदेश सरकारले समेत उच्च प्राथमिकतामा राखेर जनकपुरधाममा समेत धनुषाधामको परिचय सहितको सामग्री ठाउँ ठाउँमा राख्न जरुरी देखिन्छ ।