जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १२ असोज
आसमान नेपालको २५औं साधारणसभा सोमबार जनकपुरधाममा सम्पन्न भएको छ ।
रेखादेवी यादवको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गर्दै साधारणसभा सम्पन्न भएको हो ।
समितिका उपाध्यक्षमा मनु न्यौपाने, सचिवमा राजकुमार विश्वकर्मा र कोषाध्यक्षमा सुशिलादेवी सिंह रहेका छन् । यस्तै सदस्यहरुमा रामप्रवेश यादव, योगेन्द्र कुमार राम, महादेव यादव, रेखाकुमारी महतो र शोभा सरबरिया रहेका छन् ।
निर्वाचन समिति संयोजक भुवनेश्वर महतोले सर्वसम्मत चयन भएका नयाँ पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
साधारणसभाले ९ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।
यसअघि आइतबारदेखि सुरु भएको २५औं वार्षिक साधारणसभा तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवल यादवले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आसमान नेपालले मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका १५४ भन्दा बढी पालिकाहरुमा कार्यक्रम संचालन गरेको छ ।
आसमान नेपालले शिक्षा तथा बाल संरक्षण, स्वास्थ्य तथा पोषण, सुशासन, प्रकृतिक श्रोत व्यवस्थापन र जिविकोपार्जन, प्रकोप व्यवस्थापन र मानवीय सहायता तथा महिला सशक्तिकरण लगायत ६ वटा विषयगत क्षेत्रहरुमा काम गरिरहेको कार्यकारी निर्देशक यादवले बताए ।
आसमान नेपाल गएको एक वर्षमा १ सय ५४ पालिकाको १५ लाख ४५ हजार ९ सय ९२ जना लक्षित समुदायसँग प्रत्यक्ष रुपमा पुगेको छ । तीन तहको सरकारले संचालन गरेको साक्षरता अभियानमार्फत नौ लाख ५६ हजार तीन सय ६९ जना लाभान्वित भएको कार्यकारी निर्देशक यादवले बताए ।
एक वर्षमा ६० स्थानीय निकायहरुमा स्थानीय शिक्षा योजना, मधेश प्रदेश शिक्षा नीतिमा सहयोग, प्रकोप प्रतिक्रिया योजना, बाल विवाह न्युनिकरण रणनीति, यौन शिक्षा, स्मार्ट कृषि नीतिहरु, विद्यालयहरुमा प्रतिक्रिया र उजुरीका संयन्त्रहरुको विकास, समानता र सामाजिक समावेशीकरण, पशु अधिकारको बारेमा विभिन्न नीतिहरु निर्माणमा संस्थाले प्रत्यक्ष रुपमा सहयोग गरेको हो ।
