३२ दिनसम्म बुबाको खबर आएन, छोराले दिए कुशको शवलाई मुखाग्नि – Jaleshwortoday

३२ दिनसम्म बुबाको खबर आएन, छोराले दिए कुशको शवलाई मुखाग्नि

 September 26, 2026  
3

मो. इर्शाद

महोत्तरी, १० असोज

रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका महोत्तरीका गंगाराम मण्डलको ३२ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

मटिहानी नगरपालिका–७ का २० वर्षीय आदित्यराज मण्डलले बुबाको शवसमेत देख्न नपाई कुशको शवलाई मुखाग्नि दिएका हुन् ।
गत भदौ ९ गते परिवारसँग कुराकानी गरेका गंगाराम त्यसपछि सम्पर्कविहीन भएका थिए । रसुवामा पर्यटकलाई मानसरोवर यात्रा गराउने रिचा ट्रेकमा कुकका रूपमा कार्यरत उनी बाढीपछि बेपत्ता भएका थिए ।

बाढी आएको दिनदेखि नै परिवारले उनको अवस्थाबारे जानकारी पाउन खोजी र सम्पर्कको प्रयास गर्दै आएको थियो । तर, ३२ दिन बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।
गंगारामको परिवारमा वृद्ध बुवा–आमा, श्रीमती र चार सन्तान छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार रसुवा बाढीमा बेपत्ता भएका महोत्तरीका १७ जनामध्ये ९ जना अझै सम्पर्कविहीन छन् भने ८ जना सम्पर्कमा आएका छन् ।