दीपक श्रेष्ठ मण्डल
जनकपुरधाम, १० असोज
हलुवाई समाज नेपाल, मधेश प्रदेशको आयोजनामा सञ्चालित ‘जनजागरण अभियान–२०८३’ अन्तर्गतको मोटरसाइकल रयाली तथा जनजागरण अभियान जनकपुरधाममा आज सम्पन्न भएको छ।
असोज ५ गते संस्थापक अध्यक्ष शिवनारायण साह र केन्द्रीय अध्यक्ष शत्रुघ्न साहले संयुक्त रूपमा उद्घाटन गरेको रयाली मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर जनजागरण कार्यक्रम गर्दै आज शनिबार जनकपुरधाम आइपुगेको हो।
रयाली सप्तरी, सिरहा, धनुषा, बारा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न स्थान हुँदै अघि बढेको थियो। अभियानका क्रममा राजविराज, सिरहा सदरमुकाम, वीरगञ्ज, गौर, हरिपुर, गौशाला र जलेश्वरलगायत स्थानमा कोणसभा, स्वागत तथा जनजागरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
असोज ९ गते जलेश्वरमा कोणसभा सम्पन्न गरेपछि रयाली जनकपुरधाम पुगेको थियो। शनिबार असोज १० गते जनक मन्दिरको प्राङ्गणमा समापन कार्यक्रम आयोजना गरिएको हो। समापन अघि सहभागीहरूले जनकपुरधाम नगर परिक्रमा गरेका थिए।
हलुवाई सेवा समितिका नगर अध्यक्ष उमेश साहको अध्यक्षतामा भएको समापन कार्यक्रममा हलुवाई समाज नेपालका केन्द्रीय उपाध्यक्ष दशरथ प्रसाद साह हलुवाई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
आयोजकका अनुसार अभियानको मुख्य उद्देश्य हलुवाई समुदायबीच आपसी एकता र सामाजिक जागरण अभिवृद्धि गर्नुका साथै संगठनलाई थप सुदृढ बनाउने तथा समुदायको हकहितका विषयमा जनचेतना विस्तार गर्नु रहेको छ।
