प्राकृतिक उपचार र स्वस्थ जीवनशैली बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न – Jaleshwortoday

प्राकृतिक उपचार र स्वस्थ जीवनशैली बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

 September 25, 2026  
3

मोनु गुप्ता
जनकपुरधाम, ९  असोज
स्वस्थ जीवनशैली, प्राकृतिक उपचार पद्धति , विज्ञान दर्शन र प्रकृति सँगको मानव सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनुषा साइन्स क्याम्पस जनकपुर धाम र थ्री डी फ्री सोसाइटी (Three D Free Society) को आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

रोगमुक्त समाज निर्माणको अभियानलाई केन्द्रमा राखिएको कार्यक्रममा प्राकृतिक उपचार पद्धति, स्वस्थ दिनचर्या, माटो सँगको सम्बन्ध, माटोमा हिँड्नुको महत्त्व, सूर्यको प्रकाश तथा प्राकृतिक जीवनशैलीका विविध पक्षबारे सहभागीहरू बीच विचार–विमर्श गरिएको थियो।

कार्यक्रमको अध्यक्षता मूलवासी महासंघ, नेपालका प्रवक्ता तथा राष्ट्रिय प्रचारक गोपाल रसाइलीले गर्नुभएको थियो। कार्यक्रममा पूर्वराजदूत प्रोफेसर डा. राम स्वार्थ राय प्रमुख अतिथिका रूपमा तथा बामसेफ, भारतका राष्ट्रिय महासचिव शशी भूषण प्रसाद सिंह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा वक्ताहरूले आधुनिक जीवनशैली सँगै मानिसको प्रकृति सँगको सम्बन्ध कमजोर हुँदै गएको तर्फ ध्यानाकर्षण गराउँदै स्वस्थ रहन औषधिमा मात्र निर्भर नभई खानपान, दिनचर्या, शारीरिक सक्रियता, स्वच्छ वातावरण र प्रकृति सँगको सामीप्य लाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

उनीहरूले माटो, पानी, हावा र सूर्य जस्ता प्राकृतिक स्रोत मानव जीवनका आधारभूत पक्ष भएकाले तिनको उचित उपयोग र महत्त्व बुझ्न आवश्यक रहेकोमा जोड दिएका थिए। विशेषगरी बिहानको घाम, नियमित हिँडडुल, माटोसँग प्रत्यक्ष सम्पर्क तथा अनुशासित दिनचर्याले स्वस्थ जीवनशैली निर्माणमा सकारात्मक भूमिका खेल्न सक्ने विषयमा चर्चा गरिएको थियो।
वक्ताहरूले ‘स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ रहनु पनि हो’ भन्ने अवधारणा लाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै दैनिक जीवनमा प्राकृतिक र स्वस्थ अभ्यासलाई प्राथमिकता दिन सहभागीलाई आग्रह गरेका थिए।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक जीवनशैलीका विभिन्न पक्षबारे जानकारी लिनुका साथै स्वस्थ व्यक्ति, स्वस्थ परिवार हुँदै स्वस्थ समाज निर्माण गर्ने अभियानमा सामूहिक सहभागिता आवश्यक रहेको बताएका थिए।
प्रकृतिसँग नजिकिँदै, स्वस्थ जीवनशैली अपनाउँदै र रोगबाट बच्ने संस्कार विकास गर्दै ‘रोगमुक्त समाज’ निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्वास्थ्यप्रति नागरिकमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण सन्देश दिएको छ।