अपाङ्गता अधिकार र समावेशी विकासका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु – Jaleshwortoday

अपाङ्गता अधिकार र समावेशी विकासका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु

 September 25, 2026  
4

दीपक श्रेष्ठ मण्डल
जनकपुर धाम, ९ असाेज

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्ध (CRPD), दिगो विकास लक्ष्य (SDG) तथा पैरवी (Advocacy) सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम आजदेखि महोत्तरीको लालगढमा सुरु भएको छ। यो तालिम मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ।

तालिमको उद्घाटन समारोहमा नेत्रहीन युवा संघ नेपाल (BYAN) का बोर्ड सदस्य शंकर उपाध्याय, मिथिला नगरपालिकाकी प्रतिनिधि शिला कुमारी, तथा राष्ट्रिय अपाङ्ग महासंघ, मधेस (NFDN) का अध्यक्ष राजेश साहको विशिष्ट आतिथ्यता रहेको थियो। ३ दिनसम्म चल्ने यो तालिमको सहजीकरण अनुभवी सहजकर्ता राजु बस्नेतले गरिरहनु भएको छ।

यस तालिममा धनुषा, महोत्तरी र सर्लाही गरी ३ वटा जिल्लाका स्थानीय तहमा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरूका संस्थाहरू (OPD) का प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका ३० जना व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको छ।

यो कार्यक्रम यात्रा (YATRA) परियोजनाअन्तर्गत कार्यान्वयन भइरहेको छ भने यसमा CBM Global Disability Inclusion Nepal को सहयोग रहेको छ।

स्थानीय स्तरमा अपाङ्गता समावेशी विकास, CRPD ले ग्यारेन्टी गरेका अधिकारहरू र दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि गर्न यो तालिम अत्यन्त फलदायी हुने विश्वास लिइएको छ। यस किसिमको कार्यक्रमले अपाङ्गता अधिकारका सवालहरूलाई नीतिगत तहसम्म पुर्याउन र समाजमा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।