जलेश्वरमा स्वास्थ्य खोप सेवाको पहुँच विस्तार गर्न कम्युनिटी एक्सन ग्रुप परिचालन गरिने – Jaleshwortoday

जलेश्वरमा स्वास्थ्य खोप सेवाको पहुँच विस्तार गर्न कम्युनिटी एक्सन ग्रुप परिचालन गरिने

 September 25, 2026  
1

मो. इर्शाद

महोत्तरी, ९ असोज

जलेश्वर नगरपालिकामा स्वास्थ्य सेवाबाट वञ्चित तथा पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्न सामुदायिक कार्य समूह (सीएजी) परिचालन गरिने भएको छ ।
जलेश्वर नगरपालिकाको आयोजना तथा अमेरिकी सरकार (U.S. Department of State) को सहयोगमा अड्रा नेपाल र अभियान नेपालको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत कम्युनिटी एक्सन ग्रुप (सीएजी) गठन तथा परिचालन सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कम्युनिटी एक्सन ग्रुप मार्फत स्वास्थ्य सम्बन्धी खोज तथा पहुँच सेवाको सुदृढीकरण गर्दै स्वास्थ्य सेवाबाट वञ्चित नागरिकको पहिचान गर्ने, सही स्वास्थ्य सूचना प्रवाह गर्ने र आवश्यक सेवाका लागि सम्बन्धित स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन सहजीकरण गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रममा समुदायमा स्वास्थ्य सेवा सम्बन्धी सही सूचना प्रवाह, स्वास्थ्य सेवाबाट वञ्चित नागरिकको पहिचान, स्वास्थ्य सम्बन्धी समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने तथा आवश्यक व्यक्तिलाई स्वास्थ्य संस्थासम्म पुग्न सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो ।

पहिलो चरणमा जलेश्वर नगरपालिकाका वडा नं. ६, ७ र ११ मा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । आगामी चरणमा नगरपालिकाका अन्य वडामा समेत कार्यक्रम विस्तार गरी समुदाय स्तरमा स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रम अन्तर्गत नियमित खोप प्रवर्द्धन गर्नुका साथै खोप सम्बन्धी भ्रम तथा गलत धारणाको निराकरण, खोप छुटेका बालबालिकाको पहिचान, शून्य मात्रा खोप (जिरो डोज) तथा खोपको पूरा मात्रा नलिएका बालबालिका (ड्रपआउट) लाई स्वास्थ्य सेवासँग जोड्न सहजीकरण गरिनेछ ।

त्यसैगरी गर्भवती महिलाको नियमित गर्भ जाँच (एएनसी), सुत्केरी आमा तथा नवजात शिशुको सुत्केरीपछिको स्वास्थ्य जाँच (पीएनसी) का लागि समयमै स्वास्थ्य संस्थामा पुग्न सहजीकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समुदायमा पहिलेदेखि नै प्रयोग हुँदै आएका विभिन्न सामाजिक मञ्च तथा जमघटलाई स्वास्थ्य सम्बन्धी सूचना र संवादका माध्यमका रूपमा प्रयोग गरिनेछ । सामुदायिक बैठक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विद्यालय, आमा तथा अन्य समूहका बैठक, वडा तथा टोलस्तरीय कार्यक्रम, एफएम रेडियो तथा सामाजिक सञ्जालमार्फत स्वास्थ्य सम्बन्धी अभियान सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालनका लागि समुदायमा विश्वास गरिएका व्यक्तिहरू सम्मिलित सामुदायिक कार्य समूह गठन तथा परिचालन गरिनेछ । समूहमा धार्मिक अगुवा, शिक्षक, वडा तथा टोलका अगुवा, विभिन्न सामाजिक समूहका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरू सहभागी हुन सक्ने बताइएको छ ।

सीएजी सदस्यले आफूले नेतृत्व वा सञ्चालन गर्दै आएका सामाजिक मञ्चमार्फत खोप, गर्भावस्था तथा सुत्केरीपछिको स्वास्थ्य सेवा (एएनसी/पीएनसी) सम्बन्धी सही सूचना समुदायमा पुर्‍याउनेछन् । आवश्यक व्यक्तिलाई स्वास्थ्य सेवाका लागि सिफारिस गर्ने तथा सिफारिस गरिएका व्यक्तिले सेवा पाए वा नपाएको अवस्थाबारे समेत सहजीकरण गर्ने उनीहरूको भूमिका रहनेछ ।

कार्यक्रममा सीएजीले स्वास्थ्य स्वयंसेविका (एफसीएचभी), खोप दिने स्वास्थ्यकर्मी वा कम्युनिटी काउन्सेलरको भूमिका निर्वाह नगर्ने स्पष्ट पारिएको थियो । स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाले राख्ने आधिकारिक अभिलेखलाई दोहोर्‍याउने काम पनि सीएजीको नरहेको जानकारी गराइएको थियो ।

समुदायमा रहेका स्वास्थ्य सम्बन्धी भ्रम, गलत सूचना तथा स्वास्थ्य सेवा सम्बन्धी जानकारीको अभाव कम गर्न यस्ता अभियान प्रभावकारी हुने सहभागीहरूले बताएका छन् । समुदायले विश्वास गरेका व्यक्तिमार्फत सही सूचना प्रवाह गर्दा स्वास्थ्य सेवा आवश्यक पर्ने नागरिकलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहज हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सोनार, स्वास्थ्य शाखा प्रमुख सञ्जय कुमार शर्मा, जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरी, वडा अध्यक्षहरू छविलाल यादव र मनोज कुमार साह, अभियान नेपालकी प्रतिनिधि आरती मण्डल, स्वास्थ्य शाखाका राम लला ठाकुर , अरुण कुमार साह र राहुल कुमार सिंह लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो ।