बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सुरु – Jaleshwortoday

बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सुरु

 May 28, 2024  
pic life

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ जेष्ठ

सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी तीन दिने तालिम सोमबारदेखि जनकपुरधाममा सुरु भएकोे छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्र संघका एजेन्सीहरु (युनिसेफ, युएनएफपीए, आइएलओ र युएन ओमन)को आर्थिक सहयोगमा लाइफ नेपालले आयोजना गरेको तालिमको खेलकूद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयालले उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै सचिव फुयालले प्रशिक्षार्थी बालबालिका समाजको लिडर भएको हुँदा टोलटोलमा बालमैत्री बाताबरण निर्माण गर्न सकृय हुनुपर्ने बताए । बाल बिवाह तथा बाल स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिति र विद्यालय सक्रियतापुर्वक लागेर बालमैत्री बनाउने आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

बालमैत्री स्थानीय शासन विज्ञ अशोक खनालले प्रशिक्षकको भुमिका निर्वाह गरेको तालिममा बालमैत्री फोकल पर्सन तथा शिक्षा अधिकृतहरुको सहभागिता रहेको छ ।

खेलकूद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देवकुमारी खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले तालिमको उदेश्यबारे प्रकाश पारे । युनिसेफ नेपालका जनकपुरधाम कार्यालय प्रमुख अनिता दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बालमैत्री शासनको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार भने नाराका साथ मधेश प्रदेशका ६ जिल्लाका १२ वटा पालिकामा सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम संचालन भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका, सिरहा जिल्लाको सिरहा नगरपालिका र सखुवा नन्कारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका, सप्तरीका अग्नीसाइर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिका, पर्साको बीरगंज महानगरपालिका, पकहामैनपुर गाउँपालिका र विन्दवासिनी गाउँपालिका, बाराको आदर्शकोतवाल गाउँपालिका र रौतहट जिल्लाको यमुनामाई गाउँपालिका र बौधिमाई गाउँपालिकामा सो कार्यक्रम संचालनमा आएको छ । तालिम बुधबार समापन हुने छ ।