सामाजिक रुपान्तरणमा बबिताको साहस – Jaleshwortoday

सामाजिक रुपान्तरणमा बबिताको साहस

 June 17, 2024  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ आषाढ

धनुषाको जनकनन्दनी गाउँपालिका–३ महुवाकी बबिता ठाकुरको दिनचर्या अचेल फेरिएको छ । केही महिना अघिसम्म बालबालिकाको स्याहार र चुल्होचौकोमा सीमित बबिता अहिले भने त्यो बाहेक स्वास्थ्य सुरक्षा सम्बन्धी आफूसँगै अरुलाई पनि सचेत गर्नमा जुटेकी छन् ।

स्थानीय स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वय्मसेविकाको भूमिकामा रहेकी बबिताले सचेत मात्रै गर्दैनन् महिलालाई प्रेरित पनि गर्छिन् । अरु महिलालाई सम्झाउँदा उनले आफ्नै उदाहरण दिने गरेकी छिन् । कुनै बेला म आफै घरबाहिर निस्किन असहज मान्थे, उनी सुनाउछिन्–घर बाहिर ननिस्के अनेक प्रकारको समस्या लिएर बस्नुको विकल्प हुँदैन । त्यसैले आफ्नो समस्या आफैले समाधान गर्ने गरी अघि बढ्नको लागि भन्ने गरेको बबिता सुनाउँछिन् ।

उनी पेशाले महिला स्वास्थ्य स्वयमेसेविका भएपनि काम भने अवसरबाट बञ्चित महिलालाई सशक्त पार्ने हो । यसैको कडी हो–उनले टोलका अधिकांश महिलालाई स्वास्थ्य चौकीसम्म डोर्याएकी हुन् ।

घरमा बच्चालाई समस्या आउन नदिन पनि उनले टोलपडोसका महिलाहरुलाई आवश्यक सुझाव दिने गरेकी छिन् ।

उनी पनि रातारात समाज सुधारमा भने जुटेको छैन् । एक वर्ष अघिदेखि जनकनन्दनी गाउँपालिकाको वडा नं. ३ मा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सशक्त बालिका (जीएसएस)परियोजना संचालनमा आएदेखि बबितामा परिवर्तन देखिएको हो । पुरुष अगाडि बोल्न संकोच मान्ने बबिता अहिले भने समुदायलाई सम्बोधन गर्न सक्षम छिन् । उनी अरुलाई पनि घुम्टोबाट बाहिर आएर आफ्नो अधिकार सुरक्षित गर्न प्रेरित गर्छिन् ।

महिलाहरु प्रजनन् स्वास्थ्यप्रति सचेत हुन थालेको बबिताको अनुभव छ । चेतनाको अभावमा सुत्केरी व्यथा लाग्दा घरमै बस्ने वा स्थानीय स्तरमै प्रयास गर्ने महिलाहरु अहिले नियमित गर्भवती जाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

महिला तथा पुरुषलाई प्रजनन् स्वास्थ्यका बारेमा जानकारी गराउन र गाउँ–गाउँमा चेतना फैलाउन सशक्त बालिका परियोजना अन्तर्गत गर्भवति महिलाको स्वास्थ्य सुरक्षा, खानेपानी तथा सरसफाई, शिशुलाई खुवाउने पोषण सामग्रीबारे सो परियोजना अन्तर्गत विभिन्न बैठक र तालिममार्पmत जानकारी गराएको सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी)का कार्यक्रम अधिकृत निकिता सिंह यादवले बताइन् ।

वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई खानेपानी तथा सरसफाई, स्वास्थ्य सुरक्षा, पोषण खानेकुरा, अभिभावक शिक्षा कार्यक्रम लगायतको कार्यक्रमहरुमार्पmत जानकारी गराएको प्रभाव देखिएको जनकनन्दनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह भन्छन् ।

एसडीआरसीले जनकनन्दनी गाउँपालिकाको वडा नं. ३ र ४ मा संचालन गर्दै आएको सशक्त बालिका परियोजना अव वडा नं. ६ मा समेत चलाउने भएको छ । परियोजनाले महिलालाई सचेत पार्न प्रभावकारी हुँदै गएपछि वडा नं. ६ मा परियोजना विस्तार गरिएको एसडीआरसीका कार्यक्रम संयोजक बिबश श्रेष्ठले बताए ।

लाजले सुत्केरी गराउन स्वास्थ्य संस्था नजाने, गर्भवती जाँच नगर्ने र परिवार नियोजनको अस्थायी साधन प्रयोग नगर्ने महिलाहरु अहिले भने खुलेर यी सुविधाको प्रयोग गर्न थालेको बबिताले आफ्नो अनुभव सुनाइन् ।

अहिले अवस्था सुधारिएको छ, जनकनन्दनी गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीका सिकिन्दर साहले भने, ‘पछिल्लो समय स्वास्थ्य संस्थामा सुत्केरी गराउने र गर्भवती जाँच गराउने महिलाको संख्या बढन थालेको छ । महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउन थालेपछि स्वास्थ्य चौकीका साथिहरु व्यस्त भएको साह सुनाउँछन् ।

अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ । हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गर्थ्यौँ, बबिताले भनिन, अहिले थाहा पाएपछि शिशुको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु । बबितामा देखिएको परिवर्तनलाई समाजले पनि सकारात्मक रुपमा लिदै महिलालाई सचेत बनाउनुपर्नेमा वडाध्यक्ष साहको जोड छ ।