बाल प्रत्याभुत कार्यक्रमको सामाजिक लेखा परीक्षण – Jaleshwortoday

बाल प्रत्याभुत कार्यक्रमको सामाजिक लेखा परीक्षण

 June 19, 2024  
cfwa

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ आषाढ

धनुषाको जनकनन्दनी गाउँपालिकामा संचालित बाल प्रत्याभुत कार्यक्रम र सशक्त बालिका (जीएसएस) परियोजनाको बुधबार सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)ले उक्त गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा सो परियोजना संचालन गरेको हो ।

सो अवसरमा वर्ष दिनमा संचालन भएको कार्यक्रम र त्यसमा खर्च भएको बजेट सार्वजनिक गरिएको थियो ।

सीएफडब्लुएका कार्य समिति सदस्य इन्द्रदेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले परियोजनाले किशोर किशोरीहरुमा ल्याएको परिवर्तनप्रति खुशि व्यक्त गर्दै गाउँका अन्य किशोर किशोरीहरुलाई समेत यसमा जोड्नुपर्ने बताइन् ।

किशोर किशोरीहरुमा देखिएको परिवर्तन लोभलाग्दो रहेको छ, उनले भनिन्–समाजिक रुपान्तरणमा सहयोगी रहेको यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्छ ।

सीएफडब्लुएले संचालन गरेको परिवर्तनका संवाहक(च्याम्पियन अफ चेन्ज) कक्षाबाट ती वडाहरुका ८४२ जना, युवा संजालको क्षमता अभिवृद्धि तालिमबाट ७५ जना लाभान्वित भएका छन् ।

किशोर किशोरीहरुले आफ्नो अनुभव सुनाउँदै यो कक्षाले व्यक्तित्व विकासमा सहयोग पुर्याएको बताए ।

जनकनन्दनी गाउँपालिका वडा नं. ४ की बिपाशा साहले परिवर्तनका लागि संवाहक कक्षामा सहभागि भएर निर्धक्क बोल्न सिकेको सुनाइन् ।

बालविवाह, महिनावारी, प्रजनन अधिकारबारे सचेत भएकी बिपाशाले अंग्रेजी बोल्न र कम्प्युटर सिक्ने व्यवस्था मिलाइदिनको लागि आग्रह समेत गरिन् ।

उनीजस्तै वडा नं. ४ की रजिना खातुन कुनै बेला पढाई छाडेर घरमै बस्थिन् । तर परिवर्तनका लागि संवाहक कक्षामा सहभागी भएपछि अहिले उनी विद्यालयमा नियमित छिन् ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादव, वडा नं. ५ का वडाध्यक्ष अशोक कुमार मण्डल र वडा नं. ६ का वडाध्यक्ष सुर्यदेव यादव लगायतले परियोजनाको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सामाजिक लेखा परीक्षण कार्यक्रममा परियोजनाले १ वर्षको अबधिमा ती वडाहरुमा संचालन गरेका विभिन्न कार्यक्रम र कार्यक्रम कार्यान्वयन गर्दा खर्च भएको बजेटका बारेमा कार्यक्रम संयोजक यमलाल शंकरले जानकारी गराएका थिए । परियोजनाले कार्यक्रम संचालनको एक वर्षको अवधिमा १६ लाख ६ हजार ६६७ रुपैया खर्च गरेको छ । फिल्ड सुपरभाइजर ममता मण्डलले स्वागत मन्तव्य राखेका कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विज्ञ मिहिर झा, श्रीशंकर मावि बनरझुलाका प्रअ प्रदिप यादव लगायतले मन्तव्य राखेका थिए ।