ओम प्रकाश साह
जनकपुरधाम, १३ असार
मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको समन्वयमा पत्रकारिता आचारसंहिता, भाषा र शैलीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मिडिया काउन्सिलले विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रम जनकपुरधामस्थित होटल अन्जानी स्वीटमा सम्पन्न भएको हो।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिर महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले जिम्मेवार, तथ्यपरक र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्दै सञ्चारकर्मीहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पत्रकारिताको आचारसंहिता, जिम्मेवार सञ्चार, भाषा प्रयोग तथा समाचार लेखन शैलीका विषयमा विस्तृत अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो। वरिष्ठ पत्रकार धर्मेन्द्र झा ले प्रशिक्षण प्रदान गर्दै समाचारमा भाषिक शुद्धता, तथ्यपरकता र व्यावसायिक मर्यादाको महत्वबारे प्रकाश पार्नुभयो।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न, आचारसंहिताप्रति प्रतिबद्धता बढाउन तथा सञ्चार क्षेत्रलाई अझ विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
