मधेशका होटलमा प्रादेशिक कला र संस्कृति प्रदर्शन गर्न मन्त्री कनिशको आग्रह – Jaleshwortoday

मधेशका होटलमा प्रादेशिक कला र संस्कृति प्रदर्शन गर्न मन्त्री कनिशको आग्रह

 August 11, 2026  
Gyan Ganga Add 2083 copy

दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, श्रावण २६

मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले होटलभित्रै प्रदेशको मौलिक कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेलले जोड दिएका छन्।
मंगलबार धनुषाको लालगढस्थित गौतम होटलमा होटल तथा पर्यटन व्यवसाय महासंघ मधेश प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पटेलले होटललाई केवल बस्ने र खाने ठाउँका रूपमा नभई मधेशको कला, संस्कृति र मौलिकता अनुभव गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।
उनले मिथिला तथा भोजपुरी संस्कृतिमा आधारित संगीत, नाटक, लोककला र अन्य सांस्कृतिक प्रस्तुति होटलहरूमा नियमित रूपमा सञ्चालन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताए। “होटल केवल बस्ने र खाने ठाउँ मात्र नभई मधेशको कला, संस्कृति र मौलिकताको अनुभव गर्ने केन्द्र बन्नुपर्छ,” मन्त्री पटेलले भने।
मन्त्री पटेलले मधेशका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर पर्यटन सर्किट निर्माण गर्नुपर्नेमा समेत जोड दिए। निजी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य समेटेर ट्राभल टुर सञ्चालन गर्न प्रोत्साहित गर्दै प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।
आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमार्फत पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिँदै उनले सांस्कृतिक महोत्सव आयोजना, पर्यटन प्रचार–प्रसार तथा विदेशी पर्यटकका सवारी साधनमा ‘मधेश पर्यटन’ स्टिकर प्रयोगलगायतका कार्यक्रम समावेश गरिएको बताए।
पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री पटेलले मधेशका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न पत्रकारिता क्षेत्रको सहयोग लिन व्यवसायीलाई आग्रह गरे।
कार्यक्रमको अध्यक्षता होटल तथा पर्यटन व्यवसाय महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथि युवराज लामासहित मधेश प्रदेशका विभिन्न जिल्लाका होटल तथा पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागी व्यवसायीहरूले अन्तरक्रियाले प्रदेशमा पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्नुका साथै पर्यटन व्यवसायीको मनोबल उच्च बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।