दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २६ श्रावण
जानकी महिला जागरण समाजको आयोजना तथा स्ट्रीट चाइल्ड अफ नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘शी लिड्स’ परियोजना अन्तर्गत ५०० सहभागीमध्ये १८१ महिलालाई सिलाइ मेसिनसहित टेलरिङ व्यवसाय सञ्चालनका लागि आवश्यक विभिन्न उद्यम सामग्री हस्तान्तरण गरिएको छ।
जनकपुरधामस्थित मसला कटेजमा आयोजित उद्यम तथा व्यवसायजन्य सामग्री हस्तान्तरण समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा सहभागी महिलालाई सामग्री प्रदान गरिएको हो।
परियोजनाअन्तर्गत महिलालाई सीप सिकाएर त्यसलाई आयआर्जन तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिलाइ मेसिनका सेट, लेजरलगायत व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ। सामग्री हस्तान्तरणले सहभागी महिलालाई स्वरोजगार बन्न तथा आफ्नै व्यवसाय सञ्चालन गरी नियमित आम्दानीको स्रोत निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अध्यक्षता जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकनी कर्णले गरेकी थिइन्। अध्यक्ष कर्णले महिलालाई सीप मात्र सिकाएर नपुग्ने भन्दै सीपलाई रोजगारी, उद्यमशीलता र नियमित आम्दानीसँग जोड्नुपर्नेमा जोड दिइन्।
“महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकियो भने मात्रै महिला सशक्तीकरणले वास्तविक अर्थ पाउँछ,” कर्णले भनिन्, “सीपलाई आयआर्जनसँग जोड्दै महिलालाई उद्यमशील बनाउने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता हो।”
‘शी लिड्स’ परियोजनाले महिलाको जीवनोपयोगी सीप तथा जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यसहित उद्यम तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको आयोजकले जनाएको छ। महिलाको आर्थिक सशक्तीकरणले परिवारको आयस्तर बढाउनुका साथै निर्णय प्रक्रियामा सहभागिता, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।
कार्यक्रममा जानकी महिला जागरण समाजका कार्यक्रम व्यवस्थापक विष्णु भण्डारीले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए।
यसै ‘शी लिड्स’ परियोजनाअन्तर्गत करिब ३१९ महिलालाई बाख्रापालन, सुँगुरपालन, गाईपालन, किराना पसल सञ्चालन तथा अन्य व्यवसायका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ बराबरको सहयोगसमेत उपलब्ध गराइएको संस्थाले जनाएको छ।
