जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ भाद्र
महोत्तरी जिल्लाको मटिहानीमा रहेको संस्कृत विद्यालय तथा विद्यापीठमा अध्ययन गर्नुभएका भूतपूर्व विद्यार्थीहरुको संगठन भूतपूर्व संस्कृत विद्यार्थी समाज मटिहानी द्धितीय सम्मेलनको तयारी शुरु गरेको छ ।
नेपालको पहिलो विद्यालयको रुपमा रहेको मटिहानीको राजकीय संस्कृत विद्यालय तथा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठमा विभिन्न समयमा अध्ययन गरि विभिन्न ठाउँमा छरिएर रहेका भूतपूर्व विद्यार्थीहरुलाई एकआपसमा भेटधाटका चाँजोपाँजो मिलाउन द्धितीय सम्मेलनको तयारी शुरु गरिएको समाजका उपाध्यक्ष सागरप्रसाद बरालले जानकारी दिनुभयो ।
एकातर्फ संस्कृत शिक्षाको महत्व बढने तथा अर्को तर्फ पुरानो साथीभाईहरुसंग भेटधाट र सहकार्य बढने उद्देश्यले समाजको सम्मेलनको तयारी थालिएको उपाध्यक्ष बरालले बताउनुभयो ।
पाँच वर्ष अगाडी भूतपूर्व समाज गठन गरिएपनि सबैजना आ–आफ्नो काम, व्यस्ततामा रहनुभएकोले सबैको मिलन हुन नसकेको बताउनुहुदै समाजका महासचिव चिरञ्जीवी सापकोटाले हामीले मटिहानीको संस्कृत विद्यालय तथा क्याम्पसमा अध्ययन गर्नुभएका सबै पुस्ताको एकै ठाउँमा मिलन विन्दुको लागि पहल थालेको बताउनुभयो ।
उहाँले माघ १७ र १८ गते दुई दिवसीय सम्मेलनको तिथी तय गरिएको बताउनुहुदै सम्मेलनलाई भव्यता दिन क्याम्पसका पूर्व प्राध्यापक धु्रव रायको संयोजकत्वमा स्मारिका उपसमिति, राजकीय संस्कृत माविका प्राचार्य ईश्वरी पौडेलेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति, पूर्व विद्यार्थी, पत्रकार तथा गोरखापत्रका मैथिली पृष्ठका सहसंयोजक जितेन्द्र झाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, शिक्षक प्रेरणा साहको संयोजकत्वमा आर्थिक सङकलन उसमिति तथा उपप्राध्यापक राजेश झाको संयोजकत्वमा विधान मस्यौदा उपसमिति गठन गरिएको बताउनुभयो ।
समाजका अध्यक्ष ईश्वरी पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकबाट विगतको कार्यको समिक्षासहित सम्मेलनको तयारी थालिएको सदस्य गुणराज धमलाले बताउनुभयो ।
उहाँले सम्मेलनमा नेपालमा संस्कृत शिक्षाको संरक्षण गर्न भूमिका खेल्नुभएका व्यक्तित्वहरुलाई सम्मान गरिने योजना बनाइएको बताउनुहुदै यस कार्यमा सम्पूर्ण संस्कृत विद्यार्थीहरुको सहयोग रहने बताउनुभयो ।
मटिहानीमा संस्कृत शिक्षा अध्ययन गरिसकेका पूर्व विद्यार्थीहरुले आ–आफनो अध्ययनताकाका सम्झनामूलक लेख दिएमा विगतदेखि आधुनिकसम्म मटिहानी, संस्कृत शिक्षा तथा मटिहानीमा संस्कृति शिक्षाको बारेमा बुझन सबैलाई सहज हुने छ ।
केही वर्ष पहिला नेपालकै पहिलो विद्यालयको रुपमा चिनिएकोे राजकीय संस्कृत माध्यमिक विद्यालयले ‘एक लेख, एक पुस्तक र एक बटुक’ अभियान समेत सञ्चालन गरेको थियो ।
